सडकमा मकै पोलेर बेच्ने र मध्यम वर्गका लागि सरकारले काम गरेनः योगेश

काठमाण्डु टुडे २०८२ जेठ १७ गते २१:४९ मा प्रकाशित

ललितपुर, १७ जेठ–एमाले सचिव योगेश भट्टराईले राजनीतिक दल र राज्यको सेवा प्रवाहमा रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा भट्टराईले राज्य नजिक रहेको अनुभूति जनताले नगरेको बताउँदै दल र नेताहरू रूपान्तरित हुनुपर्ने बताएका हुन् ।

‘सुशासन, डेलिभरीका कुराहरु छन् । जो सहज हुनुपर्ने थियो, त्यो सहज नहुँदा मध्यमवर्ग छट्पटिएका छन् । गिटी कुट्ने, मकै पोलेर खानेलाई राज्यले खोजेको पनि छैन । राज्यले केही दिएको छैन,’ उनले भने ।

सचिव भट्टराईले बन्दुकले सेना कुट्ने, मार्ने र हान्नेबाहेक केही नदेखेको माओवादी पनि रूपान्तरण भएर अहिलेको संविधानमा आएको उदाहरण दिँदै आवश्यक पर्दा नेताहरू रूपान्तरण हुने बताए ।

‘आज यहाँ आइपुगेको माओवादी रुपान्तरण बिना कसरी आयो ?  राजनीतिक पार्टी पनि, नेता पनि आज फेरि एक पटक अर्को एक झमट रुपान्तरणको आवश्यकता छ । त्यसले हामीलाई आजको नयाँ पुस्तालाई उपयुक्त अवसरको सिर्जना गर्न र राज्यलाई जनतासँग नजिक लैजाने विषयमा यहाँभन्दा अझ माथि लैजान्छ,’ उनले भने ।

उनले रूपान्तरण भएरै संवैधानिक राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनाएको र राजाले सम्झौता भंग गर्दा आफूहरू अगाडि बढेको बताए ।

‘२०४६ सालपछि यो ०४७ को संविधान मान्नुपर्छ, संवैधानकि राजासँग पनि सम्झौता गरेर जान सकिन्छ भन्ने विचार बनायौं । त्यो रुपान्तरण नभएको भए कसरी हुन्थ्यो । त्यो विचारले काम लागेन । किनकी सम्झौता राजाले भंग गरेका थिए । हामीले होइन । तिमीसँगको सम्झौता भंग भयो, हामी अघि बढ्यौं भन्यौं,’ उनले भने ।

-न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us