गृहमन्त्री लेखकले राजीनामा दिनैपर्छः कोइराला

काठमाण्डु टुडे २०८२ जेठ १७ गते २२:२१ मा प्रकाशित

खोटाङ, १७ जेठ– कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने धारणा दोहो-याएका छन् ।

हलेसीमा शनिबार आयोजित एक कार्यक्रममा कोइरालाले भिजिट भिसाका नाममा मानव तस्करी भएको प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा मागेका हुन् ।

यसअघि पनि कोइरालाले लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका थिए । गत साता सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकमा नेताहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै कोइरालासँग स्पष्टीकरण सोधिनुपर्ने बताएका थिए ।

कोइरालाले राजनीतिमा नैतिकता अत्यन्त महत्वपूर्ण विषय भएकोमा जोड दिए ।
‘राजनीतिमा नैतिकता भन्ने कुरा अत्यन्त महत्वपूर्ण हो । नैतिकता बिना राजनीति कमजोर हुन्छ र अराजकता बढ्छ’, कोइरालाले भने, ‘राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हो ।’

फरक प्रसंगमा कोइरालाले वर्तमान सरकार संसदको यो कार्यकालभर रहने बताए ।

सरकारले असफल हुने छुट नहुने र त्यसमा आफ्नो पूर्ण सहयोग रहने उनको भनाइ थियो । यस्तै कोइरालाले राजावादीहरु उत्साहित हुनुमा राजनीतिक दलका नेताहरुको कार्यशैली जिम्मेवार रहेको आरोप लगाए ।

मुलुकमा भ्रष्टाचार बढेको र सुशासन दिन नसकिएको स्वीकार गर्नुपर्ने औंल्याए । ‘नेताहरुले सुशासन दिन सकिरहनु भएको छैन । भ्रष्टाचार बढिरहेको छ । सेवा राम्रो दिन सकिरहेको छैन । रोजगारीको अवसरहरू सिर्जना गर्न सकेको छैन’, कोइरालाले भने, ‘काँग्रेस–एमाले–माओवादीले नै राजतन्त्रका लागि वातावरण बनाएका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us