जग्गा आफ्नो बनाउन ५० हजारमा ‘चौथो श्रीमान्’को हत्या

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते २:०२ मा प्रकाशित

मोरङ, २३ मंसिर–जग्गा आफ्नो बनाउन मोरङमा एक महिलाले ५० हजार खर्चेर श्रीमान्को हत्या गराएको खुलेको छ ।

यसअधि ३ जना श्रीमान्बाट अलग भएकी करौन–६ की देउमाया कटुवालले जग्गा आफ्नो नाममा पार्न ‘चौथो श्रीमान्’ ३४ वर्षीय छत्रबहादुर कटुवालको ५० हजार दिएर हत्या गराएको खुलेको छ ।

देउमायालाई उक्त योजनामा दिदीसहित परिवारकै सदस्यले सघाएको प्रहरीले जनाएको छ । देउमायासहित ६ जनालाई प्रहरीले पक्राउ गरेपछि कटुवाल हत्या तथ्य बाहिर आएको छ । गत मंसिर १३ गते घरभन्दा ७ सय मिटर टाढा खेतमा परालमुनि कटुवालको शव फेला परेको थियो ।

घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा उनको शव फेला परेपछि श्रीमती देउमायाले उनले चिनेको साथीसित राति गएको र फर्केर नआएका कारण ती साथीले नै हत्या गरेको बताएर अनुसन्धानलाई अन्यत्र मोड्न खोजेका थिए ।

तर प्रहरीले सूक्ष्म तरिकाले अनुसन्धान गरेपछि देउमायासहितकाले नै उनको हत्या गरेको निष्कर्ष आएको हो ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us