अफगानिस्तान, २१ मंसिर– दक्षिण अफगानिस्तानको हेलमान्ड प्रान्त अवस्थित एक सुरक्षा जाँच चौकीमा तालिवानी विद्रोहीले गरेको एक आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ ।
गएराति भएको सो आक्रमणमा पाँच प्रहरी र एक विद्रोहीको मृत्यु भएको आइतबार प्रहरी स्रोतले जानकारी दिएको छ ।
मार्जा जिल्लाको ट्रिख नवार इलाकामा रहेको प्रहरीचौकीमा मध्यरातमा अज्ञात सङ्ख्यामा आएका तालिवान आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा पाँच प्रहरी र एक विद्रोहीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख मेहेर दिलले सिन्ह्वा समाचार समितिलाई बताए ।
अफगानिस्तानको राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणमा पर्ने हेलमान्ड प्रान्तमा भएको यस आक्रमणमा अन्य कयौ विद्रोही घाइते भएको जनाइएको छ ।
यस वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा रहेका नेटोसँगआवद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
अफगानिस्तानमा सन् २०१० एक ३० हजार नेटो सैनिक रहेका हाल आएर सो सङ्ख्या ३४ हजारमा झरेको छ ।
त्यसमध्ये पनि करिब २४ हजार अमेरिकी सैनिक रहेका छन् । आगामी वर्ष पनि १० हजार भन्दा बढी नेटो सैनिक अफगानिस्तानमा बाँकी रहने अफगानिस्तान र अमेरिकाबीच भएको सुरक्षा सम्भौतामा हस्ताक्षर भएको छ ।
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।
रासस/सिन्ह्वा