देव गुरुङले विप्लवलाई भने, ‘पदप्रतिष्ठा खोज्ने कम्युनिस्ट हुन सक्दैन’

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ९:३९ मा प्रकाशित

बुटवल, १७ मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पदप्रतिष्ठा मात्रै खोजेर कम्युनिस्ट हुन नसकिने भन्दै पार्टी फुटको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् ।

Dev Gurung
नेकपा–माओवादी रुपन्देहीले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव गुरुङले सैद्धान्तिक, राजनीतिक वैचारिक रुपले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने दाबी समेत गरे ।
उनले आवेश र उत्तेजनामा आएर पार्टीसँग सम्बन्धबिच्छेद गरेको आरोप लगाउँदै व्यक्तिगत पद प्रतिष्ठाको राजनीतिले कम्युनिस्ट बन्न नसकिने बताए । उनले एमाओवादी अध्यक्ष र बाबुराम भट्टराईले पार्टीभित्र गरेका गम्भीर प्रकारका गल्तीलाई सच्चाएर माओवादीले अघि सारेका छबुँदे एजेन्डालाई स्वीकार गरेमा पार्टी एकता हुन सक्ने बताउनुभयो ।
गुरुङले यो संविधान सभाबाट जनताले चाहेजस्तो संविधान बन्न नसक्ने भन्दै तत्काल संविधानसभा विघटनको माग गरे ।
सरकारमा रहेका नेपाली काँगे्रस, नेकपा एमालेलगायतका दलले नाम मात्रको संविधान ल्याउन खोजिरहेका भन्दै नेता गुरुङले नाम मात्रको संविधानले देशलाई समाधान दिन नसक्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us