
कैलाली, १६ मंसिर– १२ वर्षका सागर ढोली आफ्ना आमाबुबा निको भएर आउने आसामा धनगढीस्थित सेती अञ्चल अस्पताल परिसरमा तीन दिनदेखि कुरेर बसेका छन् ।
आफन्तसँगै रहेका बालक सागरलाई उनका आमाबुबा घाइते अवस्थामा रहेको र भित्र उपचार भएर चाँडै निको भएर आउँछन् भनेर आफन्तले आश्वासन दिएका छन् ।
तीन दिनदेखि राम्रोसँग खान, बस्न नपाएर थकित अवस्थामा रहेका सागर आमाबुबालाई निको भएपछि सँगै बम्बई जाने प्रतिक्षामा समेत रहेका छन् । अबोध बालक सागरलाई के थाहा सँगैको सीटमा रहेका आमाबुबा कहिल्यै नर्फकने गरी गइसकेका छन् भन्ने ।
सागरलाई सँगै रहेका आफन्तजनले उनका आमाबुबा सामान्य घाइते अवस्थामा रहेको चाँडै निको हुने भनेर आलटाल गरी मृत्यु भइसकेको भनेर अझै भनेका छैनन् ।
सेती अञ्चल अस्पताल परिसरमा भेटिएका सागरले आमाबुबा सँगै बम्बई जान भनेर आएको बताए । पहिलोपटक बम्बई जान लागेका सागरले बसमा आउँदा आमा र बुबाको गोडा (खुट्टा) मा सुतेर आएको बताउदै बस खस्दा करालो (ओरालो) ठाउँ आयो होला भन्ने सोचेको तर बस एकैपटक ठूलो आवाजसहित पल्टेको बताए ।
सो बस दुर्घटनामा परी सागर पनि घाइते भएका छन् । उनी अत्तरियास्थित पद्मा अस्पतालमा उपचारपश्चात् आमाबुबालाई भेट्ने भनेर धनगढीस्थित सेती अञ्चल अस्पताल परिसरमा शनिबार साझदेखि पर्खेर बसेका छन् । तर, उनका आमाबुबालाई अञ्चल अस्पतालको उपचार गर्ने कोठामा नभएर शव गृहको कोठामा पोष्टमार्टमका लागि राखिएको छ ।
राधानी दैनिकबाट