
काठमाण्डु, १६ मंसिर– भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्यले नेपाललाई दिने सुविधा कटौती गर्न सरकारलाई सुझाव दिएका छन् । बोर्ड सदस्य जयदेव रानादेले चिनियाँ प्रभावकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण स्थगित गर्नुपरेको दाबी गरेका छन् ।
मोदीले भ्रमण गरे भारतको प्रतिष्ठा बढ्ने र लुम्बिनीमा आफ्नो योजना कमजोर हुने चिनियाँ चासोका कारण भ्रमण हुन नसकेको रानादेवको तर्क छ ।
भारतीय मन्त्रिपरिषद्का पूर्वसहसचिव तथा नयाँदिल्लीस्थित सेन्टर फर चाइना एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्षसमेत रहेका उनले नेपालमा चिनियाँ प्रभावले सीमा नाघ्न लागेको भन्दै काठमाण्डुलाई जवर्जस्त चेतावनी दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् ।
‘भारतले नेपालसँग राष्ट्रिय विषयमा पनि कडाइ गरी चेतावनी दिनुपर्छ, उसको चीनसागको सम्बन्धले रेडलाइनको धेरा काढ्न खोजीरहेको छ, ’ भारतको द सन्डे गार्जियनमा शनिबार चिनियाँ दबाबले रोक्यो प्रधानमन्त्रीको लुम्बिनी भ्रमण शीर्षकको लेखमा भनेका छन्, ‘भारतले तत्कालै नेपालमा चीनको बढ्दो प्रभावको कडा जवाफको तयारी गर्न आवश्यक छ । अन्यथा भारतको उत्तरमा पाकिस्तानले समेत चिनियाँ प्रभावलाई मलजल पुर्याउने खतरा छ ।’
नयाँ पत्रिका दैनिकबाट