यस्तो थियो उदितको मुम्बई–कथा…

काठमाण्डु टुडे २०७१ मंसिर १५ गते ११:४४ मा प्रकाशित

एजेन्सी– हिन्दी पाश्र्वगायनका बहुचर्चित र ख्यातीप्राप्त गायक उदितनारायणको अहिले जुन लोकप्रियता र ख्याती छ, त्यो आकाशबाट सजिलै झरेको ‘फल’ थिएन । उनले आफ्नो सांगीतिक जीवनको प्रारम्भिक चरणमा अनेक हण्डर ठक्कर खाँदै र संघर्ष गर्दै सफलताको सिंढी चढेका थिए ।

Udit-Narayan 1
रेडियो नेपालबाट आफ्नो गायकीको करियर सुरु गरेका उदितनारायण अहिले बलिउड फिल्म उद्योग र संगीत बजारका सेलिब्रिटी हुन् । उनी नेपालमा १९५५ मा जन्मेका थिए तर अहिलेको प्रसिद्धिका लागि उनले सबैभन्दा धेरै संघर्ष मायानगरी मुम्बईमै गर्नुपरेको थियो ।
रेडियो नेपालमा झण्डै आठ/दश वर्ष गीत गाएपछि उनी सन् १९७८ मा मुम्बई गएका थिए र भारतीय विद्या मन्दिरमा छात्रवृत्तिमा शास्त्रीय संगीतको शिक्षा लिएका थिए । सन् १९८० मा उदितनारायणको प्रसिद्ध संगीतकार राजेश रोशनसँग भेटघाट भयो र रोशनले उनलाई आफ्नो फिल्म ‘उन्नीस बीस’मा पाश्र्वगायकमा चयन गरे ।

Udit-Narayan2
उदितले गाएको यो पहिलो फिल्म सुपरडुपर फ्लप खायो । खुशीको कुरा एउटै थियो उनले आफ्ना आदर्श गायक मोहम्मद रफीसँग गीत गाउन पाएका थिए ।
त्यसपछि लगभग दुई वर्ष उनी मुम्बईमा पाश्र्वगायक बन्नकै लागि संघर्ष गरिरहे । ‘हुन्छ हुन्छ’ को आश्वासन त उनलाई धेरैले दिइसकेका थिए । तर गीत गाउने अवसर कसैले दिएन । तैपनि उनी हार खाएर हिंडेनन् । यस बीचमा उदितले केही तेस्रो दर्जाका भनिने फिल्ममा थुप्रै गीत गाए । तर, ती फिल्मलाई त्यहाँ बी वा सी ग्रेडका फिल्म भनिन्थ्यो । यसले उनको सांगीतिक जीवनका कुनै फाइदा भएन ।

लगभग दश वर्षसम्म मायानगरीमा संघर्षकै दिनहरु बिताए उनले । सन् १९७८ मा मुम्बई पुगेका उदितले सन् १९८८ मा नासिर हुसैनको आमिर खान अभिनित फिल्म ‘कयामत से कयामत तक’मा स्वर दिएपछि मात्रै उनको गायकीले सार्वजनिक जीवन पाउन थाल्यो । ‘कयामत से कयामत तक’मा चर्चित भएको त्यो गीत थियो ‘पापा कहते है बडा नाम करेगा’ । यस गीतको सफलतापछि मात्रै उदितको पाश्र्व गायनमा आफ्नो पहिचान निर्माण भयो र उनी एकजना सफल पाश्र्वगायकका रुपमा स्थापित भए ।
‘कयामत से कयामत तक’ को सफलतापछि नै उनलाई थुप्रै राम्रा फिल्ममा गाउने प्रस्तावहरु ऋाउन थाले । त्यसपछि उनले ‘रामअवतार’, ‘त्रिदेव’, ‘महासङ््ग्राम’, ‘दिल’, ‘सौगन्ध’, ‘फूल और काँटे’ जस्ता ठूल्ठूला बजेटका फिल्ममा सहभागी हुने अवसर पाए । त्यसपछि नै उनी सञ्चारमाध्यमको बाटो भएर श्रोतको मनमस्तिष्कमा बास बस्न थालेका हुन् ।

Udit-Narayan 2
अहिलेसम्म उदितनारायणले पाँच पटकसम्म फिल्म फेयर पुरस्कारबाट सम्मानित भएका छन् । हिन्दी सिनेमामा महत्वपूर्ण योगदान दिएबापत उनले सन् २००९ को पद्मश्री पुरस्कार पनि पाएका छन् । त्यस्तै सन् २००२ मा लगानको ‘सुन मितवा’ गीतका लागि र सन् २००३ मा ‘जिन्दगी खुबसुरत है’ को गीत ‘छोटे छोटे सपने’ गीतका लागि उनले सर्वश्रेष्ठ पाश्र्वगायकको राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका छन् ।

उदितले अहिले हिन्दी, नेपाली, मराठी, गुजराती लगायतका भाषामा १५ हजारभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
(एजेन्सीको सहयोगमा)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us