युवतीको निहुँमा साथी हत्या गरेर भागेका थापा फेसबुकको सहयोगमा नौ वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते २:०८ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– फेसबुकले अपराध बढाएका छन् । तर, त्यही फेसबुक प्रहरीका लागि अपराध अनुसन्धानको महत्वपूर्ण सहयोगी पनि बनेको छ । फेसबुककै सहयोगमा प्रहरीले अपराधी पक्राउ गर्न थालेको छ ।

आफ्नै साथीको हत्या गरेर फरार रहेका गोलढुंगाका श्याम थापा फेसबुककै सहयोगमा नौ वर्षपछि पक्राउ परेका हुन् । फेसबुकमा नजिकिएर सूचना संकलन गरी प्रहरीले उनलाई यही ८ मंसिरमा पक्राउ गरेको हो ।

स्रोतका अनुसार फेसबुकमा चिनजान भएपछि भेट्ने बाहानामा सिनामंगल बोलाएर उनलाई पक्राउ गरिएको हो ।

०६२ सालमा आफ्नै साथी हेम लामाको हत्या गरी फरार रहेका थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । ‘उनी फरार रहेको सूचना पाएपछि हामीले खोजी थालेका थियौं,’ महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्, ‘फेसबुकलगायत विभिन्न माध्यमको प्रयोग गरी उनलाई पक्राउ गर्न सफल भएका हौं ।’

स्रोतका अनुसार एक प्रहरी अधिकारी आफ्नो पहिचान लुकाएर फेसबुकमा उनीसँग साथी बनेका थिए । फेसबुककै च्याटमार्फत नजिकिएर भेट्न सिनामंगलस्थित बाजेको सेकुवा कर्नरमा बोलाएर उनलाई पक्राउ गरिएको हो ।

३ पुस ०६२ मा थापाले गोंगबुको पाथीभरा रेस्टुरेन्टमा धादिङ सेमजुङका लामाको हत्या गरेका थिए ।

एक युवतीको विषयलाई लिएर उनीहरुबीच झगडा भएको थियो । सुरुमा लामाले थापालाई कुटे पनि पछि थापाले योजनाबद्ध रुपमा लामाको हत्या गरेको डीएसपी देवेन्द्र पालले बताए ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us