
काठमाण्डु, १४ मंसिर– सत्तारूढ दल कांग्रेस– एमालेभित्रका मधेसी तथा जनजाति नेताहरूलाई फकाएर आफ्ना एजेन्डामा तान्ने रणनीति एमाओवादीसहितका विपक्षी दलले बनाएका छन् ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले आफूहरूले मात्रै गरेको प्रयासले उद्देश्य पूरा नभएकाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि यसमा पहल गर्नुपर्ने प्रस्ताव शनिबार बिहान एमाओवादीसहित नवगठित मधेसी मोर्चा र संघीय समाजवादी पार्टीका नेताहरूको बैठकमा राखेका थिए ।
‘कांग्रेस– एमालेको नौबुँदे प्रस्तावका विपक्षमा ती दलका केही सभासद्बाट वक्तव्य आएका छन्, उहाँहरूको भनाइ के हो भन्ने सामान्य कुराकानी भएको हो ।’
संविधानका विवादित विषयमा छलफल गरी समाधान निकाल्नुपर्नेमा दलहरूबीच आपसी समझदारी बन्न नसकेको अवस्थामा झन् अन्योल बढाउने विपक्षी दलहरूको यो रणनीति आएको हो ।
एमाओवादी संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले यसलाई सत्तारूढ दलभित्र खेल्न खोजेको भन्दा पनि उत्पीडितहरूको साझा धारणा बनाउन खोजेको अर्थमा लिनुपर्ने प्रतिक्रिया दिए ।
उनले भने, ‘अघिल्लो बैठकमै यसबारे कुरा भएर टोपबहादुर रायमाझी र हृदयश त्रिपाठीसहितका नेतालाई ती दलभित्रका मधेसी र जनजाति नेतासँग कुरा गर्ने जिम्मा दिइएको थियो । सत्तारुढ दलको प्रस्तावका विपक्षमा तीनै दलका नेता भएकाले दुई तिहाई बहुमत नपुग्ने र पारित गर्न समस्या परेपछि सहमतिमा आउन बाध्य हुन्छ भनेर यस्तो रणनीति बनाइएको हो ।’
काँग्रेस–एमालेलाई दबाब दिन यस्तो रणनीति बनाइएको बैठकमा सहभागी मधेसी जनाअधिकार फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बताए ।
अन्नपूर्ण पोष्टबाट