फेसबुक सल्लाहले पैसा उठाएर गाउँमा सडक

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते १:१५ मा प्रकाशित

facebookगोरखा, १४ मंसिर– राम्रो काम गर्न घरमै बस्नुपर्छ भन्ने छैन । सात समुद्रपारि बसेर पनि आफू जन्मेकै ठाउँका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गोरखा सौरपानीका युवा ।
सौरपानी–८ कुलगाउँबाट कामका लागि कतार, मलेसिया, साउदी अरेयिबा, कुबेत र संयुक्त अरब इमिरेट्स गएका २१ जना युवाले सामाजिक सञ्जाल फेसबुकबाट सरसल्लाह गरेर गाउँमा सडक पुर्‍याउन रकम पठाए ।

उनीहले संकलन गरी पठाएको एक लाख रुपैयाँबाट सौरपानी रन्चोकदेखि कुलगाउँसम्म सात सय मिटर सकड निर्माण गरिएको छ । स्थानीय सुकबहादुर गुरुङका अनुसार गत वर्ष खनिएको तीन सय ७५ मिटर सडक पनि सोही रकमले मर्मत गरिएको छ ।
ग्त वर्ष गाविसको रकमले कुलगाउँमा सडक पुर्‍याउन सकिएन । काम बीचैमा रोकियो । यो खबर गाउँमा रहेका युवाले विभिन्न मुलुकमा रहेका युवालाई सुनाए ।

‘हाम्रो गाउँ गाविसभरिकै विकट र पिछपडिएको छ’, कतारमा रहेको शुक्र गुरुङले भने, ‘गाविसको बजेटले पनि पुगेनछ । त्यसपछि गाउँसम्म सडक पुर्‍याउन केही गरौं भन्ने लाग्यो । विभिन्न मुलुकमा रहेका गाउँका हामी २१ ज्नाले फेसबुकको ग्रुप च्याटबाट सल्लाह गरी अलिअलि पैसा संकलन गरेर पठाउने निर्णय गर्‍यौं ।’

उनले गाउँका युवा गाउँमै रमाउन भनेर फुटबल मैदान पनि निर्माण गरिदिएको बताए । करिब सय घर भएको कुल गाउँमा गुरुङको मात्र बसोबास छ ।
कुलगाउँ पुग्न गोरखा सदरमुकामबाट एक दिन लाग्छ । गाउँमा सडकसँगै मोटर पुगेपछि खाद्यान्नलगायत सामान सुपथ मूल्यमा पाइन थालेको सुकबहादुरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us