सार्क सम्मेलन बीचैमा छाडेर हिंड्न खाेजेका थिए राजापाक्ष

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते २:१६ मा प्रकाशित

IMG_8886काठमाण्डु, १३ मंसिर–  श्रीलंकामा अचानक उत्पन्न  राजनीतिक संकटका कारण दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’को समापन समारोहपूर्व नै स्वदेश फर्कने योजना बनाएका राष्ट्रपति महिन्दा राजापाक्षले नेपालको आग्रहमा शिखर सम्मेलनको पूरा अवधि बस्ने निर्णय गरेका हुन ।

राजापाक्षले आफ्नो मुलुकमा उत्पन्न राजनीतिक संकटका कारण फर्किहाल्नुपर्ने बाध्यात्मक स्थिति बनेको जानकारी बिहीबार बिहान सोल्टी होटेलमा कामु परराष्ट्रसचिव शंकर बैरागीसमक्ष राखेका थिए।

सामान्यत: कुनै पनि सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुख उपस्थित हुन नसक्ने अवस्थामा शिखर सम्मेलन रद्द हुन्छ तर उद्घाटनसत्र पूरा भइसकेपछि कसैको अनुपस्थितिले सम्मेलन प्रभावित हुन्छ कि हुँदैन, त्यसबारे कुनै स्पष्ट परम्परा वा मान्यता स्थापित भएको छैन ।

‘महामहिम, यो अत्यन्त दु:खद् कुरा हुनेछ र आयोजक प्रधानमन्त्रीले यसलाई मन पराउनुहुने छैन, बैरागीको छोटो प्रतिक्रियासँगै अरू केही घन्टा नेपालमा बस्न अनुरोध गरेलगत्तै राजापाक्षले उत्तर दिए, ‘उसो भए म जान्नँ’, सोल्टी होटेलबाट धुलिखेल रिट्रिटमा नगई विशेष विमानद्वारा कोलम्बो फर्कने मन बनाइसकेका थिए उनले ।

राजापाक्ष काठमाण्डु आएकै दिन कोलम्बोमा मंगलबार राष्ट्रपतिको असीमित अधिकारमा कटौती र शासनपद्धतिमा प्रजातान्त्रिक सुधारको माग राख्दै आएका प्रविधि तथा अनुसन्धानमन्त्री चम्पिका रानावाकले राजीनामा गरेका थिए ।

रानावाक नेतृत्वको ‘नेसनल सिनाला हेरिटेज’ पार्टीको समर्थनमा सत्ता गठबन्धनका अन्य सातजना सांसद पनि राजापाक्षे सरकारको विरोधमा उत्रेपछि उनको संकट चुलिएको थियो ।

त्यति हुँदाहुँदै पनि उद्घाटनसत्रको पूरा दिन उनी सार्क गतिविधिमै लागिरहे र बुधबार प्रधानमन्त्री सुशील कोइरालाले दिएको रात्रीभोजमा पनि सामेल भए । तर बिहीबार बिहान अचानक सोल्टीमै ब्रेकफास्टपछि घरेलु परिस्थितिले गर्दा धुलिखेल रिट्रिट र समापनसत्र दुवैमा सहभागी हुन नसक्ने मुडमा उनी देखिए ।

त्यहीं उपस्थित कामु परराष्ट्रसचिव बैरागीसँग आफ्नो सोचाइबारे संकेत गरेपछि उनको सुझाव र अनुरोधलाई सकारात्मक रूपमा लिँदै केहीबेरमा पूर्वनिर्धारित कार्यक्रमअनुसार राजापाक्ष धुलिखेल रिट्रिटका लागि प्रस्थान गरे । यो संयोगकै कुरा हो ।

यसअघि सन् २००९ मा औपचारिक नेपाल भ्रमणमा आउँदा पनि राजापाक्षले आफ्नो बसाइ छोट्याएका थिए, श्रीलंकाली क्रिकेट खेलाडीहरुमाथि पाकिस्तानमा आतंकवादी आक्रमण भएपछि ।

त्यतिबेला उनी आफ्नो निर्धिरित लुम्बिनी यात्रा रद्द गरी स्वदेश फर्केका थिए ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us