
काठमाण्डु, १२ मंसिर– डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने सतर्क रहनुहोला ।
नेपालसहित विश्वभर सक्रिय अन्तर्राष्ट्रिय आपराधिक गिरोह तथा ह्याकर र चिनजानकै मानिसले तपाइँको खाता अनधिकृत रुपमा चलाइराखेका हुन सक्छन् ।
त्यस्ता शंकास्पद व्यक्तिले ‘डेबिट/क्रेडिट कार्ड अकाउण्ट’ बाट रकम तथा अनधिकृत वस्तु/सेवा खरिद गरेर तपाइँलाई ठगिरहेका पनि हुन्छन् ।
केही दिनअघि टर्किस नागरिक मेहमत गुलेन नेपालबाट पक्राउ भएपछि नेपालसहित विभिन्न मुलुकका बैंक/वित्तीय संस्थाले जारी गरेका क्रेडिट/डेबिटकार्ड खाता असुरक्षित बनेका छन् ।
प्रविधिमा विशेष ज्ञान भएका अन्तर्राष्ट्रिय गिरोहले म्याग्नेटिक स्ट्रिप रिडर/राइटरमार्फत एटीएम (डेबिटकार्ड) क्रेडिटकार्डका गोप्य डेटा ट्रान्सफर गरी नक्कली भिसा कार्ड, मास्टर कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड बनाएर ठूलो धनराशी आर्जन गर्न सक्छ ।
टर्किसका गुलेन पक्राउलाई बैंकिङ अपराधमा संलग्न अन्तर्राष्ट्रिय अपराधीको कनेक्सनसम्म पुग्ने आधारको रुपमा नेपाल प्रहरीले लिएको छ ।
ह्याकरबाट बच्न पहिलो उपाय पिनकोड सुरक्षित राख्नु नै हो ।
कारोबार दैनिकबाट