
काठमाण्डू, १८ जेठ- आज वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइँदैछ ।
उक्त अवसरमा सरकारले आज काठमाण्डू, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिएको छ ।
यकिन मिति नभए पनि करिब तीन हजार वर्षदेखि ललितपुरको जावलाखेलमा यो जात्रा मनाइँदै आइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेको उपस्थितिमा गुठी संस्थान ललितपुरका प्रतिनिधिले अपराह्न भोटो देखाउने कार्यक्रम छ ।
वैशाख शुक्ल प्रतिपदाका दिन रथ तानेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुन्छ । जात्राको पहिलो चरणमा रथ यात्रा गरिन्छ । अन्तिम दिनमा भोटो जात्रा गरिन्छ ।
भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको जनविश्वास रहिआएको छ । किंवदन्तीअनुसार यो जात्रा सुरु भएपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरूपी भूत आएर भोटो लग्यो। किसानले खोजे, पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे ।
भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरिया । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किंवदन्ती छ ।