त्रिविमा काँग्रेस विद्यार्थीको गुण्डागर्दी निन्दनीय छः विष्णु रिजाल

काठमाण्डु टुडे २०८२ जेठ १८ गते ७:१७ मा प्रकाशित

काठमाण्डू, १८ जेठ- एमाले नेता विष्णु रिजालले सत्ता साझेदार काँग्रेस विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयमा खुलेआम गुण्डागर्दी र आक्रमण गरिरहेको भन्दै निन्दा गरेका छन् ।

रिजालले विद्यार्थी राजनीतिबाटै आएका मन्त्री र महामन्त्री बनेकाहरुको मौनता र संरक्षणले विश्वविद्यालयका पदाधिकारी असुरक्षित बनेको र शैक्षिक वातावरणलाई नै आतंकित बनाएको उल्लेख गरेका छन् ।

‘विश्वविद्यालयमा नेविसंघका नाममा खुलेआम भइरहेको यस प्रकारको गुण्डागर्दी र आक्रमण निन्दनीय छ’, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अझ विद्यार्थी राजनीतिबाटै मन्त्री÷महामन्त्री बनेकाहरुको मौनता र संरक्षणले विश्वविद्यालयका पदाधिकारीहरुलाई मात्र असुरक्षित बनाएको छैन, समग्र शैक्षिक वातावरणलाई आतंकित बनाएको छ ‘एक लज्जा पतित्याज्यम्’….. त्यसै भनेको होइन होला ।’

महामन्त्री भनेर रिजालले काँग्रेस महामन्त्रीद्वय गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई लक्षित गरेका हुन् । थापा र शर्मा नेविसंघ राजनीतिको पृष्ठभूमि भएका नेता हुन् ।

रिजालले आफ्नो पोष्ट गृहमन्त्री रमेश लेखक र प्रहरी मुख्यालयलाई मेन्सन गरेका छन् । नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयमा पटकपटक तोडफोड गर्दै आएका छन् ।

पछिल्लोपटक नेविसंघ समूहले त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड तथा रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन् ।

त्रिविले घटनाबारे त्रिवि कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली, सह–कुलपति एवं प्रहरी नेतृत्वलाई तोडफोड र गुण्डागर्दीबारे जानकारी गराएका छन् ।

तर, प्राज्ञिक थलोमा गुण्डागर्दी गर्ने दोषीहरु खुलेआम हिंडिरहँदा पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सम्वद्ध पक्षले चासो देखाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us