काठमाण्डुु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रहरी प्रतिष्ठान निर्माणका लागि आठ अर्ब ७९ करोड रुपैयाँ उपलब्ध गराएसँगै नेपाल प्रहरीको वृत विकासमा ठोस टेवा पुग्ने आशा पलाएको छ ।
१७ वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले भारतसमक्ष अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन सहयोगको प्रस्ताव गरेका थिए ।
सन् १९९६ मा बोहोरा भारतमा सुरक्षासम्बन्धी बैठकमा भाग लिन पुगेका बेला भारतीय सुरक्षा निकायले नेपाली सीमा क्षेत्रभित्रबाट हुने भारतविरोधी आतंकवादी गतिविधि रोक्न सुझाएका थिए ।
बोहोराले सीमा क्षेत्रमा भारतका १० वटा सुरक्षा एजेन्सी तैनाथ रहेको र नेपालको एकमात्रै सुरक्षा एजेन्सी रहेकाले भारत नै बढी चनाखो हनुपर्ने बताएका थिए ।
‘नेपाली सुरक्षाकर्मीलाई पाकिस्तानी, अफगानी, श्रीलंकाली, तालिबानी चिन्न गाह्रो हुन्छ, बरु भारतले इच्छाशक्ति देखाएमा पहिचानमा सजिलो हुने’ तर्क बोहोराको थियो ।
बोहोराले घुमाउरो पाराले आतंकवादी चिन्ने कलाको तालिम केन्द्र भारतले बनाइदिएमा सजिलो हुने बताएका थिए ।
त्यसपछि भारतले अर्को प्रस्ताव गयो ।
स्रोतका अनुसार भारतले नेपाली सीमाभित्रै भारतीय फौज राख्ने प्रस्ताव गरेको थियो ।
तर बोहोराले नेपाल सार्वभौम मुलुक भएकाले हतियारसहितका भारतीय सुरक्षा फौज राख्न नमिल्ने जवाफ दिएका थिए । त्यो सुरक्षा बैठकमा भारतका तत्कालीन गृहसचिव पद्म नामैयालगायत सहभागी थिए । अन्नपूर्ण पोष्टबाट