बूढाहरु वैद्यतिर, युवाहरु चन्दतिर

काठमाण्डु टुडे २०७१ मंसिर १० गते २:१५ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– एमाओवादीबाट विभाजन भएर गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी तीन वर्ष नपुग्दै फेरी फुटेको छ । सचिव नेत्रविक्रम चन्दको नेतृत्वमा पार्टी विभाजित भए पनि नयाँ पार्टी गठनको औपचारिक घोषणा भने गरिएको छैन । तर चन्दले अध्यक्ष वैद्यलाई सोमबार भेटेर औपचारिक रुपमा सम्बन्धविच्छेद भएको जानकारी गराइसकेका छन् ।mohan baidhya-netra bikram chand
वैद्यको वैचारिक र राजनीतिक लाइन नै प्रस्ट नभएकाले पार्टी विभाजन गर्नुपरेको आरोप चन्द पक्षको छ ।

विचारमा भिन्नता भएरै पार्टी विभाजन भए पनि भौतिक रुपमा भने बूढा र युवाहरु दुई समूहमा बाँडिएका छन् भने विप्लवलाई खासगरी युवा र राज्यको सुविधा धेरै भोग्न नपाएकाहरुले साथ दिएका छन् । चन्दलाई साथ दिने एकमात्र पोलिट्ब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा भने पटक–पटक मन्त्री भइसकेका छन् ।

रामबहादुर थापा, सिपी गजुरेल, देव गुरुङ, पम्फा भुसाललगायतका पुराना नेताहरु वैद्यसँगै छन् । तर, नेतृत्वमै रहेका बाबुछोराको एक जोडी भने बाबु चन्न्दतिर र छोरा वैद्यतिर लागेका छन् । बाबुछोराको त्यो जोडी हो ईश्वरी दाहाल र महेश्वर दाहालको ।

युवाहरुको साथ लिएर चन्दले जनविद्रोहको बाटो रोजेपछि यतिबेला संकटमा वैद्य समूह परेको छ । पार्टी विभाजनको तीन वर्षसम्म पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेको यो समूह फेरी पुरानै पार्टीमा फर्कने अनुमान राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

त्यसो त युवाहरुको ऊर्जा लिएर नयाँ जनवादी क्रान्ति गर्ने भने पनि कतिपय युवाहरुले उनको दस्स्तावेज पनि विरोधाभाषपूर्ण रहेको भन्दै साथ छाडेका छन् । यसको नेतृत्व डा. ऋषिराज बरालले गरेका छन् । उनले ‘मान्य छैन विप्लववाद’ शीर्षकमा लेख लेखेरै चन्दको दस्तावेजमा आफ्ना सात वटा असहमति दर्ज गरिसकेका छन् ।

बुधबार साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us