शुक्लाफाँटामा कृष्णसारको संख्यामा वृद्धि

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते ८:५१ मा प्रकाशित

कञ्चनपुर, ९ मंसिर– शुक्लाफाँटा वन्यजन्तु आरक्षको हिरापुर फाँटामा तीन वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको संख्या बढेर ३८ पुगेको छ । लोपोन्मुख अवस्थामा पुगेका कृष्णसारको संरक्षण गर्न आरक्ष कार्यलयले नेपालगन्ज नगरपालिकाको स्वामित्वमा रहेको चिडियाखाना र ललितपुरको जावलाखेल चिडियाखानाबाट कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो ।

वि.सं. २०६९ असोज २ र ४ गते नेपालगन्जबाट दुई पटक गरी आठ भाले १४ पोथी गरी २२ र वि.सं. २०६९ असोज १५ गते ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले दुई पोथी र एक बच्चा गरी छ कृष्णसार ल्याइएको थियो । ल्याउने क्रममा दुई वटाको मृत्यु भएको थियो भने स्थानान्तरणपछि संरक्षण क्षेत्रमा ल्याइएका दुई बच्चाको मृत्यु भएको कृष्णसारको संरक्षणमा खटिएका कर्मचारीले बताए ।

तीन वर्षको अवधिमा कृष्णसारको संख्या बढेर ३८ पुगेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्षको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको हो ।     कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउनका लागि सात हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ । चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन् भनेर विद्युतीय तारबार जडान गरिएको आरक्षका सहायक संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताए ।

उनकाअनुसार फेन्स वायरमा सोलारको मद्दतले विद्युत् छाडिने गरिएकाले बाह्य जनावर त्यस क्षेत्रमा जान डराउने गर्दछन् । कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै दुई वटा कृत्रिम पोखरी र दुई वटा छहारी घर निर्माण गरिएको छ ।

पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडकमा आरक्ष कार्यलयले ग्राभेल गरेको छ भने कृष्णसारलाई हेर्नका लागि मचानको समेत व्यवस्था गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीसिकारले गर्दा केही समययता लोप हुने अवस्थामा पुगेको हो ।

नेपालमा कृष्णसार सबैभन्दा बढी झन्डै तीन सय जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगन्ज, काठमाण्डुको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ ।

कृष्णसारको संख्यामा वृद्धि हुन थालेकाले आरक्ष कार्यालयले ग्याविन बक्सको क्षेत्रलाई १४ हेक्टर क्षेत्रफलमा विस्तार गर्ने र नागेश्वर मध्यवर्ती सामुदायिक वनको बीच भागबाट अवलोकन मार्ग निर्माण गरी पर्यटक आकर्षण बढाउने भावी योजना आरक्ष कार्यालयको रहेको छ ।

बर्दियाको खैरापुरबाट उन्नत प्रजातिको कृष्णसार ल्याउने, मध्यवर्ती क्षेत्रको सुनदेवी उपभोक्ता समितिसँग मिलेर संरक्षण र पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । विभिन्न दातृसंस्थाको ४२ लाख ६१ हजार तीन सय रुपैयाँको सहयोगमा सुनदेवी उपभोक्ता समिति झलारीले कृष्णसार संरक्षणका लागि समुदायमा आधारित कार्यक्रमसमेत सञ्चालन गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us