विदेशमा रहेका शिक्षकका नाममा तलब

काठमाण्डु टुडे २०७१ मंसिर ८ गते १:१२ मा प्रकाशित

भैरहवा, ८ मंसिर– रुपन्देहीको मझगाँवस्थित मर्चवार आदर्श उच्च माविले रोजगारीका लागि विदेश गएका शिक्षकका नाममा एक वर्षदेखि तलब निकासा गरेको खुलेको छ । विद्यालयले हाल कोरियामा रहेका शिक्षक मिलन शर्मा बस्यालका नाममा एक वर्षदेखि तलब निकासा गरेको पाइएको हो । शर्मा गत वर्ष इपिएस परीक्षा उत्तीर्ण भई कोरिया पुगेका थिए ।

देशमै नभएका शिक्षकका नाममा तलब निकासा गरी भएको अनियमिततामा विद्यालय र जिल्ला शिक्षा कार्यलयको समेत सम्लग्नता रहेको आशंका गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिले ३ साउन ०६८ मा उच्च मावि सञ्चालनका लागि शिक्षा कार्यलयको अनुदान सहयोगमा दुई शिक्षक नियुक्ति गरेको थियो । त्यसअन्र्तगत बिहानी सत्रमा नेपाली र शिक्षा विषय अध्यापन गराउन बस्याल नियुक्ति भएका थिए । उनी निमावि तहका शिक्षक भए पनि उच्च माविमा पढाउँदै आएका थिए ।

कोरिया गएपछि बस्यालले विद्यालय तहको शिक्षक पदबाट राजीनामा दिएका थिए । तर उच्च मावितर्फ भने राजीनामा नदिएको उच्च माविका सहप्राचार्य धनञ्जय त्रिपाठीले बताए ।

विदेशमा रहेका शिक्षकका नाममा तलब निकाल्नु गलत भएको स्वीकार्दै उनले उच्च माविका दुई शिक्षकलाई सरकारले दिने अनुदान रकमबाट वर्षभरिको खर्च चलाउनु पर्ने भएकाले समस्या भएको त्रिपाठीले बताए ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us