
काठमाण्डु, ७ मंसिर– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ को अठारौं शिखर सम्मेलन नजिकिँदै गर्दा देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, मुक्तिनाथ र जनकपुर क्षेत्रमा तेब्बर सुरक्षाकर्मी खटाई सुरक्षा सर्तकता अपनाइएको हो ।
मुक्तिनाथ, लुम्बिनी, धुलिखेललगायतका क्षेत्रमा पनि सुरक्षाकर्मीको उपस्थिति बाक्लो पारिएको छ । गृह मन्त्रालयले पाहुना जाने सबै स्थानमा समान्यभन्दा तेब्बर सुरक्षाकर्मी तैनाथ गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार सार्कमा सामान्य घटना भएपनि अन्तर्राष्ट्रिय रुपमा मुलुकको प्रतिष्ठमा आँच आउने भएका कारण राजधानीलगायत देशभर नै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मी खटिएको गृहमन्त्रालयको भनाइ छ । स्रोतका अनुसार गृहले तीन तहको सुरक्षा कायम गरी परिचालन गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर जाने यात्रुहरुलाई एक वा दुईजना मात्रै पठाउन थालिएको छ भने त्यहाँका पार्किङमा राखिएका सवारी साधनसमेत निगरानीमा राखिएका छन् ।
सार्क सम्मेलन अवधिभर पार्किङक लटका सबै सवारी निगरानीमा पर्नेछन् । पार्किङ लटका सबै सवारी साधन सम्मेलन अवधिभर विमानस्थलमा प्रवेश दिइनेछैन ।
विमानस्थलमा आउने र जाने सबैको भिडियो रेकर्ड गरी निगरानीसमेत सुरु गरिएको छ । त्यसैगरी सुरक्षाका लागि तैनाथ रहेका सवारी साधनहरु विमानस्थलमा तयारी अवस्थामा राखिएका छन् ।
साथमा एम्बुलेन्ससहित सुरक्षा निकायका उच्च अधिकारीहरु विमानस्थलमै परिचालित हुनेछन् । गृह स्रोतका अनुसार सार्कको सुरक्षामा कुनै कमी हुन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अघोषित रुपमा पाँच दिनसम्म बन्द हुनेछ ।
सोमबारदेखि पाहुना आउने क्रमसँगै विमानस्थलको सुरक्षा संवेदनशीलताका कारण १२ कात्तिकको साँझसम्म अघोषित रुपमा विमानस्थलमा उडान र अवतरण बन्द गर्न लागिएको छ ।
स्रोतका अनुसार बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म सीमित बिमान मात्रै अवतरण हुनेछन् ।
राजधानी दैनिकबाट