सार्कको सदस्य बन्ने चीनको चाहना

काठमाण्डु टुडे २०७१ मंसिर ७ गते २:११ मा प्रकाशित

chinaकाठमाण्डु, ७ मंसिर– सार्कमा प्रभावकारी भूमिका खोजिरहेको चीनले यसको स्थायी रणनीतिक साझेदार वा पूर्ण सदस्य बन्ने चाहना राखेको छ ।
सार्कका ५ राष्ट्रसँग सीमा जोडिएको र यसका सबै सदस्य मुलुकभित्र उत्तिकै गहिरो सम्बन्ध रहेकाले पनि चीन सार्कभित्र आउन चाहेको बेइजिङस्थित सरकारी थिंकट्याकसँग आवद्ध विज्ञहरुले बताएका छन् ।

‘सार्कमा चीनको भूमिका आसियानमा चीनले पाएजस्तै हुनुपर्छ’, चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्सअन्तर्गत दक्षिण र दक्षिण एसियाली तथा अफ्रिकी अध्यन संस्थानका निर्दैशन हु सिसेङ भने ‘विशेष गरी चीनले सांघाइ कोअपरेसन अर्गनाइजेसनमा खेलेको भूमिकाजस्तै चाहेको हो ।’
मध्यएसियाका ६ राष्ट्र चीन, रुस, किर्गिस्तान, काजकिस्तान, ताजकिस्तान र उज्वेकिस्तान स्थायी सदस्य रहेको अर्गनाइजेसन सन २००१ मा सांघाइमा स्थापना भएको हो ।

चीनले १९९६ मा आसियानको सदस्यता पाएको हो । सन २००५ मा ढाकामा भएको १३ औं सार्क सम्मेलनले चीन र जापानलाई पर्यवेक्षक स्वीकृति प्रदान गरेको हो ।
नेपालले चीनलाई सार्कमा भित्र्याउने प्रस्तावउपर कडा समर्थन जनाएको थियो । सार्कमा आफ्नो प्रभाव विस्तार गर्दै लैजाने चिनियाँ चाहना भने भारत सकारात्मक नभइदिँदा सम्भव हुन सकेको छैन ।

चीनसहित अस्ट्रेलिया, इरान, दक्षिण कोरिया, मौरिसस, अमेरिका र युुरोपियन युनियनसमेत सार्कमा पर्यवेक्षक छन् ।

चीनको तीव्र विकासबाट सार्कले पनि धेरै लाख लिन सक्ने उल्लेख गर्दै निर्देशक हुले यसलाई आसियान, मध्य र पूवोत्तर एसियासँग जोड्नसमेत रचनात्मक भूमिका खेल्न सकिने उल्लेख गरे ।

चीनले एससीओकै रुपरेखाअन्तर्गत रही सार्कमा क्षेत्रीय शान्ति, सहयोग, विकास र स्थायित्वका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सक्ने उनले बताए ।

‘चीनको नयाँ भूमिका कस्तो हुने सार्क सदस्यहरुले नै परिभाषित गर्नुपर्छ’, स्पष्ट वक्ताका रुपमा परिचित हुले भने, ‘चीनको कुनै पनि नयाँ भूमिकाले न सार्कलाई भद्दा वा रोगी बनाउने छ, न त सदस्यहरुले दु:ख वा अप्ठेरो नै महसुस गर्नुपर्छ ।’
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us