
काठमाण्डु, ३ मंसिर–सार्कको १८ औं शिखर सम्मेलन नजिकिँदै जाँदा छिमेकी भारतले आफ्नो उच्चस्तरीय प्रतिनिधिमण्डलको सुरक्षामा नख्खु काराकागारका कैदीबाट समेत खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । सरकारले पनि नख्खुसहितका जेलमा सुरक्षा सतर्कता बढाएको छ ।
‘सुरक्षा खतराको पहिचान गरी हामीले सबै ठाउँमा निगरानी बढाएका छौं’, गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘नख्खु जेल मात्र होइन, सम्भावित सबै ठाउँमा सुरक्षा सतर्कता बढाइएको छ ।’
नख्खुमा नक्कली भारु नोटको कारोबारको अभियोग खेपेका युनुस अन्सारी र केही पाकिस्तानी नागरिकले जेलबाहिर सञ्जाल विस्तार गरेको र उनीहरुबाट भारतविरोधी गतिविधि भइरहेको भन्दै भारतीय सुरक्षा एजेन्सीले सरकारको ध्यानाकर्षण गराएको हो । स्रोतकाअनुसार भारतीय गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) तथा केही समयअघि फर्केको एड्भान्स टोलीले भारतीय उच्चस्तरीय प्रतिनिधि मण्डलका लागि सम्भावित सुरक्षा चुनौतीबारे नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका उच्च निकायलाई जानकारी गराएको थियो ।
स्रोतकाअनुसार नख्खु जेलको डिआरसी ब्लकमा राखिएका युसुन अन्सारी, पाकिस्तानी नागरिक हैदर अली, सैयद सरदार हुसेन, मोहम्मद फैसल, मोहम्मद सजादलगायतको बाहिरी सुरक्षा सञ्जालबारे अध्ययन भइरहेको छ ।
नयाँ पत्रिका दैनिकबाट