सात प्रदेशविरुद्ध कांग्रेस–एमालेमै विद्रोह

काठमाण्डु टुडे २०७१ मंसिर २ गते २:०८ मा प्रकाशित

nc-uml flagकाठमाण्डु, २ मंसिर– संविधानका विवादित विषयमा आफ्नै पार्टीले ल्याएको साझा धारणाको विरुद्ध कांग्रेका ६ र एमालेका ९ जना सभासद्ले विद्रोह गर्दै वैकल्पिक प्रस्ताव प्रस्तुत गरेका छन् ।

पार्टी प्रस्तावको विपक्षमा उभिनेमा कांग्रेस सभासद्मा तेजुलाल चौधरी, बुद्धिसागर चौधरी, भोटनीदेवी खवास, पार्वता डिसी चौधरी, प्यारेलाल राना र सुशीला चौधरी छन् भने एमालेका नागेन्द्र चौधरी, बैजनाथ चौधरी, मञ्जु चौधरी, कृपाराम राना, विश्वराम चौधरी, जयप्रकाश थारु, ताराकान्त चौधरी, बलवीरप्रसाद चौधरी र रवीन चौधरी छन् । नयाँ प्रस्तावको पक्षमा उनीहरुबाहेक अन्य ३३ जना थारु सभासद्हरुले पनि हस्ताक्षर गरेको बताइएको छ ।

कांग्रेस–एमालेका थारु सभासद्हरुले तयार पारेको प्रस्तावमा पश्चिम कञ्चनपुर, कैलाली जिल्लादेखि सुर्खेत उपत्यका, दाङ देउखुरी, नवलपरासीको नवलपुर, चितवन उपत्यका, उदयपुर उपत्यका हुँदै पूर्व झापासम्म चुरेसहित दक्षिणी भूभागलाई मात्र समेटेर तराईमा पहिचान र सामथ्र्यका आधारमा प्रदेशहरु निर्माण गरिनुपर्ने जनाइएको छ ।

नयाँ प्रस्तावमा संघीय प्रतिनिधिसभामा जनसंख्याको अनुपातमा प्रदेशहरुबाट सिट संख्या निर्धारण हुनु पर्ने, तथा प्रदेशसभाका सदस्यहरुको निर्वाचन क्षेत्र विभाजन गरिँदा जातीय, भाषिक र संस्कृतिक सघनतालाई विशेष महत्त्व दिनुपर्ने लगाएतका विषयहरु समावेश गरिएको छ ।

नेपाल समचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us