राजनीतिमा बजिरहेको धर्मको घण्टी

काठमाण्डु टुडे २०७१ कार्तिक २८ गते १०:५४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध नेपालमा जन्मिएको स्वीकार गरिदिए भनेर हर्षबढाईं चल्यो । त्यसबखत मलाई दुईवटा कुराले आश्चर्यचकित तुल्याएको थियो । एक त हिन्दु अधिनायकत्व चाहने मोदीले आफ्नो मुखुण्डोका साथसाथ बुद्धको बिम्बलाई समेत बेच्न खोजेको तथ्यले, अर्को चाहिँ कुन शासकले बुद्ध नेपालमा जन्मिएको सर्टिफिकेट दिन्छ भनेर कान थापेर बस्ने मूर्ख मनोविज्ञानले । सबैभन्दा पेचिलो प्रश्न चाहिँ यो छ– बुद्ध नेपालमा जन्मिएको सुन्न चाहने कतिजनाले बौद्धमार्गीलाई पनि उस्तै प्रेम गर्लान् ? बुद्ध नेपालमै जन्मिएका थिए भनेर सबैले मान्नुपर्छ भन्ने आग्रहले बुद्धको सम्मान गरेको कि बुद्धको स्वामित्व लिन खोजेको ?

Yug Pathak
बुद्धलाई आफ्नो स्वामित्वको छातामुनि राख्न चाहने विचार पञ्चायतकालमा आविष्कार भएको हो । यो विचारको जगमा थियो– हिन्दु धर्मको अधिनायकत्व कायम गर्ने र अरु धर्मलाई हिन्दु स्वामित्वको छातामुनि राख्ने शासकिय अभिप्राय । विविध धर्मावलम्बीहरू बस्ने मुलुकलाई घोषित हिन्दु राष्ट्र बनाउने संवैधानिक व्यवस्था २०४७ सालको संविधानले पनि जारी राख्यो । सामान्यतः राजतन्त्र जस्तो सामन्ती व्यवस्थाले धर्मको राजनीति गर्नु अनौठो होइन । तर अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेपछि प्रसंग बदलिएको छ । लगत्तै संविधानसभाले गणतन्त्र घोषणा गर्दै राजतन्त्र खारेज गरेपछि हिन्दुवादीहरू उत्तेजित हुनपुगे ।
अहिले कमल थापाको राप्रपा नेपाल हिन्दुवादलाई राजनीतिक एजेण्डा बनाउन सफल भएको छ भने काँग्रेसका खुमबहादुर खड्का, एमालेका मोदनाथ प्रश्रित लगायत केही बुद्धिजीवी, वकिल पनि हिन्दुवादको पक्षपोषण गर्दै कमल थापाको छातामुनि ओत लिन पुगेका छन् । यो खेमा धर्मनिरपेक्षता विरुद्ध वकालत गर्न व्यस्त छ । यो छोटो लेख उनीहरूलाई सम्बोधन गर्न लेखिएको होइन । यो लेख तपाईंहरूप्रति समर्पित छ जो यी चतुर खेलाडीको धर्म भजाउने राजनीतिबाट भ्रममा पर्नुभएको छ ।

सर्वप्रथमतः धर्मनिरपेक्षता देशको धर्म हुँदैन भन्ने मान्यता हो । यसको मतलब हो– धर्म मान्नु वा नमान्नु व्यक्तिगत वा सामुदायिक स्वतन्त्रताको कुरा हो । तर आधुनिक समयमा न त देशको जीवन न त मान्छेकै जीवन धर्मको घण्टी बजाएर चल्नेवाला छ । जीवन वैज्ञानिक भैसक्यो । सुखदुख, घटना–दुर्घटना, संयोग–वियोग, आपतविपत जस्ता चीज कुनै भगवानको कृपाले हुने वा नहुने होइन र यी चीजसँग सामना गर्न वैज्ञानिक व्यवस्थापन र उपायको आवश्यकता हुन्छ भन्ने तथ्य स्थापित भैसक्यो । समुद्रमा आँधी उठ्न लागेको पूर्वानुमान मात्र होइन, आँधीको गति र दिशा समेत विज्ञानले बताइदिने बेला छ । मोबाइल फोनमा हरेक चीजको जानकारी बोकेर हामी हिँड्छौं । यस्तो बेला जीवन बाबाजीको घण्ट वा शिवलींगको प्रतापले चल्दैन भनेर भन्नु परेन । मान्छे तैपनि आध्यात्मिक तुष्टिको लागि धर्म, परम्परा र रितिरिवाजमा सामेल हुन्छ । तर धर्मलाई नै जीवनको सम्पूर्ण आधार मान्दैन । यस्तो बेला धार्मिक हिसाबले सोचेर देशको आर्थिक, शैक्षिक, वैज्ञानिक, सांस्कृतिक प्रगति हुन सक्ला ?

पक्कै सक्दैन । लौ भैगो, संस्कार–संस्कृतिको रक्षा गरेर आफ्नोपन जोगाउने चिन्ता होला हाम्रा बा–बाजेहरूमा । तपाईंहरूलाई प्रश्न छ– आजको जमानामा तपाईंका सन्तती पुरानो संस्कारको घुमाउरो, समय बर्बाद गर्ने र पैसा पनि बर्बाद गर्ने संस्कारमा अल्झिएर बस्न सक्छन् ? आज हरेक व्यक्तिले संसारका अनेक संस्कारमा हुर्किएका मानिसहरूसँग प्रतिस्पर्धा गर्नु छ । जीवन यति जटिल, द्रुत र संकटग्रस्त छ कि नयाँ पुस्ता तपाईंका संस्कार जोगाउने भन्दा संसारको जटिलतामा जीवन जोगाउने कुरा पहिला सोच्ला नि ?

अर्को कुरा, हिन्दु धर्मको अधिनायकत्व शासनमा अभ्यास गरेकै भएर यो देशको जनसंख्याको ९५ प्रतिशतभन्दा ठूलो हिस्सा उत्पादक र उन्नतीशील हुन सकेन । दलित, महिला, जनजाति, आदिवासी आदिलाई मात्र होइन हिन्दु धार्मिक वर्णव्यवस्थाले माथि राखेको क्षेत्रीबाहुनकै पनि अलि नयाँ कुरा गर्ने, समाजलाई उन्नत बनाउन चाहने हरेक नयाँ पुस्तालाई दण्ड दिएर यो समाजलाई पछाडि पारिराखेको कठोर हिन्दु कानुनले नै हो । देश ठूलो परियोजना हो । देशका सबैजसो जनसंख्याले नयाँ ढंगले सोच्ने, नयाँ कुरा आविश्कार गर्ने र नयाँ नयाँ प्रयोग गर्ने, पुराना कुराको विरुद्ध विद्रोह गर्ने र नयाँ विचार र जीवनशैली जन्माउने निरन्तर अभ्यास गरेर मात्र कुनै पनि सभ्यताको विकास हुने हो । अनि मात्र सबै हात र सबै दिमागको मेहनतले देशजस्तो ठूलो परियोजनामा सभ्यता र भौतिक सामरिक विकास हुन्छ । तर हिन्दु अधिराज्यका रूपमा धार्मिक शुद्धताको भेषमा शासन चलाउनेहरूले एकाध दरबार, एकाध भारत र बेलायतमा हवेली भएका राणा र ठकुरी खान्दान र एकाध साहुमहाजन त बनायो, तर पुरै देश र देशका अधिकांश जनतालाई तन्नम बनायो । त्यसैले धर्मनिरपेक्षता चाहिएको हो– रचनात्मक र कर्मशील समाज बनाउन । हेलाहोचो, ठूलोसानोको साँघुरो अभ्यास पुग्यो, नयाँ पुस्ताले रचनात्मक समाज खोजेको छ ।

हुन त धर्मनिरपेक्ष राष्ट्र घोषणा भएरै मात्र यसको अर्थ स्थापित हुने होइन । अहिले पनि राष्ट्रपति हिन्दु धार्मिक उत्सवमा कार्गेट दौडाएर जान्छन्, हिन्दु धर्मलाई राज्यले गर्ने लगानी हुबहु छ, सेनाले शिवरात्री बढाईं गर्न छाडेको छैन । वास्तवमा यो मुलुक धर्मनिरपेक्ष बन्ने बाटोमा मात्र छ । तर ख्याल राख्नुपर्ने कुरा के हो भने हिन्दुवादी राजनीति गर्न खोज्ने महानुभावहरूको तुष्टि यसबाट हुने होइन । धर्मनिरपेक्षताले हिन्दु धर्ममा आक्रमण ग¥यो भन्ने बनावटी नारा लगाएर उनीहरू सत्ताको रोटी सेक्न खोजिरहेछन् । समाज विकासको उनीहरूलाई चिन्ता छैन, किनभने पुरानै प्रकारको राज्यसत्ताबाट उनीहरू पुष्ट हुनेगरी मोटाएकै हुन् । समाज यस्तै तन्नम गरिब, मगन्ते र आत्महिन भैरहे उनीहरूलाई फाइदा छ । किनभने हिन्दुत्वका नाममा गर्न खोजिएको राजनीति हो– त्यो पनि व्यक्तिवादी ।

डेढ सय वर्ष अघि कार्ल माक्र्सले एक सन्दर्भमा ‘धर्म जनताको अफिम हो’ भनेका थिए । आधुनिक विश्वमा यो भनाईलाई तथ्यहरूले पुष्टि गरिसकेका छन् । युरोपको वैज्ञानिक, दार्शनिक र राजनीतिक अभियानले चर्चको धार्मिक सत्तासँग लामो लडाईं लड्यो । त्यसैकारण अठारौं शताब्दीदेखि युरोप र युरोपबाट उत्पादित मस्तिष्कले ज्ञानविज्ञान, शक्ति, पूँजी सबै क्षेत्रमा निरन्तर पकड जमाउँदै आयो र आज विश्वमै शक्तिशाली छ । धर्म त त्यहाँ पनि मानिन्छ । तर सामान्य आध्यात्मिक तुष्टिको लागि धर्म र सांस्कृतिक परम्परा मान्नु र धर्मलाई नै जीवन, समाज, दर्शन, ज्ञानविज्ञान, बिद्रोह, उत्पादन सबैथोकको आधारमा राख्नु बिल्कुल फरक कुरा हुन् । यस्तो धार्मिक समाज र देशले बिस्तारै अधोगति समात्छ । एक जमानामा मेसोपोटामियन र इजिप्सियन सभ्यता बनाएर गणित, ज्ञानविज्ञान, खगोलशास्त्र सबैमा उल्लेख्य उन्नति गरेको अरब जगत इस्लाम धर्मको पिँजरामा छिरेपछि पछि पर्यो ।

पक्का कुरा के भने, आडम्बरी कर्मकाण्डका आधारमा अबको समाज अघि जाँदैन । न त धर्मको राजनीतिले । त्यसो हुन्थ्यो भने राणाकालमै यो देश विकसित भैसक्थ्यो । हिन्दु धर्मको अधिनायकत्व अधिनस्त अरु सबै धर्म रहनुपर्छ भन्ने जिरहले आपसी सम्मानको भाव दिँदैन । यो त हिन्दु धर्म मान्ने जनतालाई समेत गरिब र शासित बनाइराख्ने राजनीतिक स्वार्थबाट जन्मिएको विचार हो । पण्डा, धर्मगुरु र स्वघोषित धर्मका ठेकेदारले जनताको आध्यात्मिक तृष्णामा टेकेर राजनीति गर्ने बाटो बनाउने हुन् । खसोखास कुरा यही हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us