आन्दोलनको स्वरुपबारे पत्रकार महासंघमा विवाद

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते ९:३० मा प्रकाशित

fnjकाठमाण्डु, २२ कात्तिक– टेलिभिजनका पत्रकारले १० महिनासम्म पारिश्रमिक नपाएको समाचार आइरहेका बेला पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा श्रमजिवी पत्रकारका पक्षमा गर्ने भनिएको आन्दोलनको स्वरुपलाई लिएर विवाद भएको छ ।
महासंघको नयाँ नेतृत्व चयन भएको ७ महिना बित्नै लाग्दा महासंघको कामकारबाही प्रभावकारी नभएको भन्दै पत्रकारहरु असन्तुष्ट बनेका बेला महासंघभित्रै विवाद देखिएको हो । महासंघको एक साताअघि लमजुङको रमणीय पर्यटकीय स्थल घलेगाउँमा बसेको केन्द्रीय समिति बैठकमा आन्दोलनका कार्यक्रमको प्रारुपमा विवाद भएको थियो ।
बैठकमा अध्यक्ष महेन्द्र विष्टसहित अधिकांश पदाधिकारीले आन्दोलनको स्वरुप आक्रामक बनाउन नहुने अडान लिएको थियो । तर केन्द्रीय सदस्यहरुले भने सञ्चार माध्यमले महिनौंसम्म पारिश्रम नदिई पत्रकारको श्रम शोषण गरिरहेकाले ‘मिडिया मालिक’ विरुद्ध आक्रमण आन्दोलन सञ्चालन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच झण्डै हातहालाहालको अवस्था आएको एक केन्द्रीय सदस्यले बताए ।

बैठकमै भनाभन

प्रतिष्ठानफर्तका केन्द्रीय सदस्य रोशन पुरीले नेतृत्व तहका व्यक्तिहरुले श्रमजिवी पत्रकारको मुद्धामा भन्दा विदेश भ्रमणमा जाने विषयलाई प्राथमिकता दिएको भन्दै आपत्ति जनाएका थिए । पुरी बोलिरहेका बेला सचिव प्रभात चलाउनेले उनलाई रोक्दै आक्रामक रुपमा ‘म तपाईंलाई राम्ररी चिन्छु, ठूला कुरा नर्गुस’, भनेका थिए ।

जवाफमा पुरीले ‘तपाईं को हो, म तपाईंलाई चिन्दिन’ भनिदिए । सचिव चलाउने र कोषाध्यक्ष सूर्यमणि गौतम जापान भ्रमण गएका विषयमा जानकारी नदिइएकामा पुरीले प्रश्न उठाएका थिए । पुरी र चलाउनेबीचको विवादपछि अध्यक्ष विष्टले हस्तक्षेप गरी बैठक अघि बढाएका थिए ।
खिलबहादुर कड्किएपछि सबै चुप
बैठकमा केन्द्रीय सदस्य अजय मिश्र अनुरागीले भावी संविधानका विषय बैठकमा प्रवेश गराएपछि केही पदाधिकारीले उनलाई पदाधिकारीमध्ये केहीले रोक्न खोजेका थिए । भावी संविधानले मुलुकको समस्याको समाधान दिनुपर्ने भन्दै जस्तो भए पनि संविधान चाहियो भन्ने पक्षमा महासंघ जान नहुने उनले बताएका थिए । मिश्रभन्दा पहिला बोल्नेलाई पनि पदाधिकारीले रोक्न खोजेका थिए । त्यो देखेर रिसाइरहेका खिलबहादुर भण्डारी कड्किए । उनले टेबल ठटाएर केन्द्रीय सदस्यलाई बोल्न दिनुपर्ने बताए । भण्डारी कड्किएपछि बैठकमा केहीबेर सन्नाटा छाएको थियो । ‘केन्द्रीय सदस्यलाई बोल्न दिनुपर्छ’, भण्डारीको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘बोल्नै नदिने भए बैठक किन बोलाएको ?’
ठूला मिडियाको अवस्था बुझ्न १५ दिन
केन्द्रीय सदस्यले चर्को विरोध गरेपछि महासंघले ठूला सञ्चार माध्यममा कार्यरत पत्रकारको अवस्था बुझ्ने जिम्मेवारी श्रमजिवी पत्रकार ऐन कार्यान्वयन समितिसँग समन्वयमा काम गर्ने गरी प्रतिष्ठानलाई दिएको छ । प्रतिष्ठान संयोजक सुरज आचार्य र केन्द्रीय सदस्य रोशन पुरीले संञ्चार संस्थाभित्रको अवस्था बुझेर केन्द्रमा बुझाउने छन् । आचार्यले समग्र श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे बुझ्ने बताए । ‘हामीले यसअघि पनि व्यवस्थापक र प्रतिष्ठान शाखाका अध्यक्षहरुसँग छलफल गरिसकेका छौं’, आचार्यले भने, नियुक्तिपत्र, नियमित पारिश्रमिक, उपचार, सञ्चय कोष, उपदान, बीमालगायत ऐनको व्यवस्था कार्यान्यवन भए/नभएको हेर्छौं ।’ अध्ययनपछि आन्दोलनको स्वरुप तय हुने उनले बताए । पटकपटक ध्यानाकर्षण गराउँदा पनि पत्रकारलाई तलब र नियुक्तिपत्र नदिएकाले कडा आन्दोलनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।
‘आन्दोलन नगर्ने भनेको होइन’
महासचिव उजीर मगरले भने आन्दोलनमा जाने वा नजाने भन्नेमा महासंघमा कुनै विवाद नरहेको दाबी गरे । उनले महासंघ श्रमजिवी पत्रकारको मुद्धामा गम्भीर रहेको बताए । ‘पत्रकार महासंघ श्रमजिवी पत्रकारका मुद्धामा गम्भीर छ’, मगरले भने, ‘आन्दोलनमा जाने भन्नेमा विवाद छैन, प्रक्रियाका बारेमा छलफल भएको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us