नेपाली कम्युनिस्टहरुले बिर्सिदिए अक्टुबर क्रान्ति दिवस

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ८:०७ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– विश्वभरिका कम्युनिस्टहरुले आदर्श दिनका रुपमा लिने अक्टुबर क्रान्ति दिवस आजैका दिन (नोभेम्बर ७ मा) पर्छ । पुरानो रुसी क्यालेन्डरअनुसार अक्टुबर २५ गते पर्ने भएकाले यसको नाम ‘अक्टुबर क्रान्ति’ रहन गएको हो । कम्युनिस्टहरुले सैद्धान्तिक गुरुका रुपमा जर्मनीका कार्ल माक्र्स र व्यवहारिक गुरुका रुपमा रुसी नेता भ्लादिमिर लेनिनलाई मान्ने गर्दछन् । नेपालमा पनि सत्तारुढ कम्युनिस्ट पार्टी नेकपा (एमाले) देखि प्रमुख प्रतिपक्षी पार्टी एकीकृत नेकपा (माओवादी) सम्मले आफूलाई ‘लेनिनवादी’ पार्टी भन्दै आएका छन् । तर अचम्म, नेपालका कुनैपनि लेनिनवादी पार्टीले यसपटक लेनिनको नेतृत्वमा भएको अक्टुबर क्रान्ति दिवस मनाएनन् ।

सात नोभेम्बर त्यस्तो दिन हो, जुन दिन रुसी मजदुरहरुले सम्राट, साहुजी, मन्त्री वा हाकिमहरुको अड्डा विद्रोहमार्फत् कब्जा गरेका थिए । रुसी पुँजीपतिहरुको सरकार उखेलेर फालिदिएका थिए र त्यसको ठाउँमा मजदुर सरकार गठन गरेका थिए । नाफामुखी अर्थव्यवस्था तहसनहस पारिदिएका थिए र फ्याक्ट्री, खेत, कम्पनी सबै मजदुरले नै चलाउन थालेका थिए । त्यही दिनदेखि रुसमा मजदुर शासन सुरु भएको मानिन्छ । त्यसपछिको सोभियत संघ त्यस्तो मुलुक थियो, जसमा बस्नका लागि सबैको घर थियो । फ्याक्ट्रीहरुमा कोही पनि मालिक थिएन । संसारमा समाजवादी धुरी बनेर एउटा मुलुक उदाएको थियो । आज सोभियत संघको त्यो कथा न कुनै टेलिभिजनको धारावाहिकले देखाउँछ, न कुनै रेडियोको अन्तर्संवाद कार्यक्रमले चर्चा गर्छ । न कुनै अखबारले विशेषांक निकाल्छ, न कुनै स्कुलको किताबले सप्रसंग व्याख्या गर्छ । अक्टुबर क्रान्तिकै आदर्श स्थापित गर्न भनेर स्थापना भएका कम्युनिस्ट पार्टीहरु समेतले त्यो दिन बिर्सिसकेका छन् ।

lenin-and-cat
नेपालमा साना–ठूला गरेर झण्डै दुई दर्जन कम्युनिस्ट पार्टीहरु छन् । संविधान सभामा प्रतिनिधित्व गर्ने नै नेकपा (एमाले), एकीकृता नेकपा (माओवादी), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेपाल मजदुर किसान पार्टी, नेकपा (संयुक्त) लगायत आधा दर्जन बढी कम्युनिस्ट पार्टीहरु छन् । संविधान सभाबाहिर पनि मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी, परी थापा नेतृत्वको नेकपा एकीकृत, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा (माओवादी) लगायतका कम्युनिस्ट पार्टीहरु क्रियाशील छन् । तर, कसैले पनि आज न लेनिन सम्झे, न लेनिनले गरेको क्रान्ति ।

एमाले नेता प्रदीप ज्ञवाली देशको विशिष्ट परिस्थिति र राष्ट्रिय राजनीतिको महत्वले गर्दा एमालेले अक्टुबर क्रान्ति दिवस मनाउन नसकेको बताउँछन् । ज्ञवाली भन्छन्, ‘एमालेले अन्तर्राष्ट्रिय क्रान्तिसँग सम्बन्धित दिनहरुलाई सम्झने गरेको छ, लेनिन दिवस, माओ दिवस र अक्टुबर क्रान्ति दिवस पनि हामीले सम्झनुपर्ने दिन नै हुन् । तर, पछिल्ला दिनमा हामीले मे दिवसलाई अलि बढी ध्यान दिने गरेका छौं ।’ उनले एमालले देशभित्रको महत्वलाई ध्यानमा राखेर अक्टुबर क्रान्ति दिवस नमनाएको बताए ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले पनि पार्टीले अक्टुबर क्रान्ति दिवसको कुनै कार्यक्रम नराखेको जानकारी दिए । जनयुद्धको समयमा नोभेम्बर ७ लाई अक्टुबर क्रान्ति दिवस मनाउँदै आएका माओवादी पार्टीका कुनै पनि समूहले यसपटक अक्टुबर क्रान्ति दिवस स्मरण गरेनन् । देशभित्रका परम्परागत चाडपर्व मनाउने र तिनका फोटोहरु फेसबुकमा अपलोड गर्ने कम्युनिस्ट नेताहरु कम्युनिस्ट परम्पराकै तिथिमिति चाहिं बिर्संदै गइरहेका देखिन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us