नयाँबानेश्वेरमा जे देखियो

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते २:०१ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– हाम्रो सिट्ठीलाई न सवारी चालकले मान्छन्, न त पैदल यात्रुले। गुडिरहेको गाडीअगाडि हात फैलाएपछि मात्रै रोकिन्छ । पैदलयात्रुलाई हातैले ठेलेर रोक्किलनुस् भन्नुपर्छ, राजधानीको व्यस्त चोक नयाँबानेश्वेरमा खटिएका एक ट्राफिक प्रहरी जवानले दु:ख पोखे ।

बिहान साढे नौदेखि दुई घण्टा बसेर नयाँबानेश्व रचोकमा नियाले काठमाण्डुको सडक अराजकता प्रस्ट हुन्छ । पैदलयात्रुदेखि निजी तथा सार्वजनिक सवारीसाधनका चालक कोही पनि सडकमा एकै मिनेट रोकिन चाहँदैनन् । ट्राफिक प्रहरी सिट्ठी फुकिरहेका हुन्छन्, गाडीहरू हर्न बजाइरहेका । पैदलयात्रु हुइँकिएको गाडीलाई बेवास्ता गर्दै बाटो काट्दै हुन्छन् । चार ट्राफिक प्रहरी चारवटै सडकको मुख्यचोकमा सिट्ठी फुक्नमै व्यस्त । एउटा अव्यवस्थित सहरको अव्यवस्थित चोक हो यो ।
तीन वर्षदेखि आकासे पुल पर्खिरहेको बानेश्वर सडकमा न्यूनतम भौतिक पूर्वाधार छैन । सडकमा जेब्राक्रस देखिँदैन, लेन बनाइएको छैन । ट्राफिक बत्ती बिग्रिएको तीन वर्ष भइसक्यो । ट्राफिक प्रहरीको सिट्ठीको भरमा धानिएको छ बानेश्वरको सवारी व्यवस्थापन ।

बूढाबूढी र बच्चामात्र होइन, स्कुल तथा कलेज पोसाकमै बाटो काट्ने विद्यार्थीमा समेत नियम पालना गर्ने चेतना देखिँदैन । ट्राफिकले इशारा गर्नेबित्तिकै गुटुटुटु दौडिएर बाटो काट्छन् । विपरीत दिशाबाट गाडी आएको थाहा हुँदाहुँदै बाटो काट्दा दोष कसलाई दिने ?
सवारी चालकमा देखिएको हतारले कुनै पनि बेला दुर्घटना निम्त्याउन सक्छ । पैदलयात्रुको हुलले बाटो काट्न लागेको देख्दादेख्दै किचौंला झैं गाडी हाँक्ने चालकको लापरबाही रोक्ने हिम्मत ट्राफिक प्रहरीले गर्दैनन् ।

बुटवलबाट कामका लागि काठमाण्डु आएका पूर्णप्रसाद सापकोटालाई बानेश्विरचोकमा बाटो काट्न झन्डै पाँच मिनेट लाग्यो । उनले ट्राफिकले गाडी रोकेपछि मात्रै नियम पालना गर्दै बाटो काटे । जबर्जस्ती बाटो काटौं भने गाडीले हानिदेला भन्नो डर ।

मारौंलाजसरी गाडी हाँकिरहेका छन्। एकछिन कुरेर बाटो काट्दा आफू पनि सुरक्षित, सापकोटाले सवारी बेथितिबारे  भने । उनले सडक व्यवस्थापन चुस्त नहुनुमा व्यस्त सडकमा जेब्राक्रस नराख्ने सरकार, एकछिन रोकिने फुर्सद नभएका सवारी चालक, पैदलयात्रु र कडाइसाथ नियम पालना नगर्ने ट्राफिक प्रहरी सबै दोषी रहेको बताए ।
काभ्रेबाट बानेश्वरमा काम गर्न आइपुगेका दिनेश अधिकारी दुर्घटना हुनबाट धन्न जोगिए । बाटो काट्दै गर्दा बसले झन्डै सोहोरेन । सडक बेथितिबारे उनले भने, सबैलाई हतार छ, कसलाई के भन्ने ?

सवारी चालकको त कुरै छाडौं, चेतना नै नभएको हो कि बुझपचाएको, बुझ्नै गाह्रो । यस्तो व्यस्त सडकमा आकासे पुल त हुनुपर्‍यो नि । बाटोमा कुनै संरचना नभएपछि दुर्घटना भयो भने दोष कसलाई दिने, चालक कि पैदलयात्रुलाई
सवारी व्यवस्थापनमा खटिएका एक ट्राफिक जवान भन्छन्, हेर्नोस्, अफिस टाइममा बाटो काट्ने एक हूलमा सयौं पैदलयात्रु हुन्छन् । गाडीको चाप रोकिँदैन । पैदलयात्रुलाई रोक्दा केही सीप नलगागेपछि बरु आफैंलाई किचोस् भनेर गुडिरहेको गाडी रोकेर पैदलयात्रुलाई बाटो कटाउनुपर्छ ।

असिनपसिन भएका ती जवानले सडकमा भौतिक पूर्वाधार विकास नगरेसम्म यो समस्या ज्युँका त्युँ रहने ठोकुवा गरे । कम्तीमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र लेन राखिदेऊ भनेर सम्बन्धित ठाउँ गुहार्‍यौं, तर काम कहिल्यै हुँदैन उनले भने ।

सडक व्यवस्था विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले जेब्राक्रसिङ र लेन बनाउने ठेक्का पाएको ठेकेदार भागेकाले समयमै काम गर्न नसकेको लाचारी व्यक्त गरे । उनले भने, ठेकेदार सम्पर्कमा आएको एक साता मात्रै भयो, अब छिट्टै काम सुरु हुन्छ । चाँडै जेब्राक्रसिङ र लेन बनाउँछौं । ट्राफिक बत्ती भने सडक विस्तारका क्रममा तार काटिएकाले नयाँ नै राख्नु पर्छ ।
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us