
इस्लामावाद, १२ कात्तिक – पाकिस्तानले आफ्नो भूमिमाथि निरन्तर भइरहेको आक्रमण रोक्न अमेरिकासँग आग्रह गरेको छ ।
पाकिस्तानी आकासबाट अमेरिकी सेनाको मानवरहित विमानले गरेको हमलाका कारण आतङ्ककारीमात्र नभई पाकिस्तानी नागरिकको पनि ज्यान जाने गरेकोले सो आक्रमण तत्कालै रोक्न उसले सो आग्रह गरेको हो ।
पाकिस्तानका प्राय उत्तरी जातीय द्वन्द्व जारी रहेका क्षेत्रमा उनीहरुले हमला गर्ने गरेका छन् । सो हमला यी दुई देशबीचको सम्बन्धमा समय समयमा समस्या उत्पन्न गर्ने विषय बनेको छ ।
विगत लामो समयदेखि नै अमेरिकी सेनाले गर्ने यस हमलाको पाकिस्तानी नागरिकले पनि कडा विरोध गर्ने गरेका छन् । तरपनि यो आक्रमणको शृङ्खला भने बन्द भएको छैन ।
सो आक्रमण पाकिस्तानको सार्वभौमिकतामाथिको हमला भएको भन्दै पाकिस्तानले यसअघि पनि पटक पटक अमेरिकासमक्ष आग्रह गर्ने गरेको हो ।
अमेरिकाले भने पाकिस्तानका ती क्षेत्रमा अफगानिस्तानको सीमा क्षेत्रबाट ठूलो सङ्ख्यामा तालिवानहरु प्रवेश गर्ने गरेकोले उनीहरुमाथि कारबाहीस्वरुप सो हमला गरेको बताउदै आएको छ ।
पाकिस्तान र अफगानिस्तानका लागि विशेष दूतका रुपमा रहेका ड्यानियन फेल्डमेनसँग बुधबार पाकिस्तानको राजधानी इस्लामावादसँगको भेटका क्रममा पाकिस्तानी गृहमन्त्री चैधरी निसार अलि खानले सो आग्रह गरेका हुन् ।
पाकिस्तान र अफगानिस्तानमा सशस्त्र तालिवानहरुले आतङ्क मच्चाउने गरेका छन् । उनीहरुले यी देशका नागरिक तथा सुरक्षाकर्मीको हत्या गर्ने गरेका छन् । एएफपी