प्रचण्डकी नातिनी भन्छिन्, ‘यसरी भएँ गायिका’

काठमाण्डु टुडे २०७१ असोज १० गते ७:३६ मा प्रकाशित

दुई वर्षदेखि गाउँथें
smitaमेरो जन्म २०५५ साल माघ १ गते दार्जिलिङमा भएको हो । परिवारका सिनियरहरुले भन्नु भएअनुसार म दुई वर्षको हुँदा नै आफ्नै सुरमा गुन्गुनाउँने गर्थें रे । तर त्यो मलाई सम्झना छैन । मलाई सम्झना भएको चाहिं ५/६ वर्षको भएपछि हो । गाउन एकदमै मन लाग्थ्यो । ठूलो भएपछि गायिका बन्ने इच्छा हुन्थ्यो । रेडियो/टिभीमा सुनेर पूराना गितहरु जस्ताकोतस्तै गरी गाउने कोसिस गर्थें । तिहारको गितहरु गाएको सम्झना अहिले पनि छ । लता मंगेस्करको ‘कान थापेर सुनिदेऊ’ बोलेको गीत बढी गाउँथे ।
परिवारको छाप
म सानो हुँदा आमा, हजुरआमाहरुले गीत गुन्गुनाउनुहुन्थ्यो । म ध्यान दिएर सुन्थें । एल्बम बिमोचनमा हजुरबाले पनि भन्नुभएको थियो, हजुरआमामा गायिका हुने कला छ भनेर । त्यो कुरा सत्य हो, उहाँ राम्रो गाउन सक्नुहुन्छ । हजुरबाले ममा वंशानुगत गुण आएको भन्नुभएको ठीक हो । ममीले गाउने क्रममा मलाई सघाउनुहुन्थ्यो । मेरो रुची बुझेर परिवारका सबैले गायिका नै बनोस् भन्ने चाहना राख्नुभएको थियो । पछि गायिका बन्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो । परिवारको सहयोगबाटै म आजको ठाउँमा आइपुगेकी हुँ ।
स्कुलमा गाउँथें
म दार्जिलिङमा जन्मिएको हुँ । कक्षा चारसम्म उतै पढें । त्यतिबेला स्कुलमा गाउने थिइन । घरमा, बाटोमा, बेडरुममा, स्कुल अाउँदा जाँदा गीत गुन्गुनाउने गर्थें । शान्ति प्रक्रिया सुरु भएको दुई वर्षपछि परिवारसँगै २०६५ सालमा काठमाण्डु आएँ । काठमाण्डु आएर कक्षा पाँचमा भर्ना भएँ । त्यसयता हरेक वर्ष स्कुलको अभिभावक समारोह र बाल दिवसमा गीत गाउँथें । तर स्कुलमा प्रतियोगिता भने हुँदैनथ्यो । आफ्नो एल्बम नहुनुभन्दा पहिला अरुको गीत गाउँथें । मैले गाउँदा फ्लोरबाट ताली बज्थ्यो । साथीहरु र शिक्षकहरुले हौसला दिनुहुन्थ्यो ।
कतै सिकेको छैन
व्यवसायिक रुपमा गीत गाउन अहिलेसम्म कतै क्लास लिएको छैन । आफ्नै अभ्यासले यतिसम्म गाउन सकेकी हुँ । केही समयदेखि संगीतकार चन्दन श्रेष्ठसँग सिक्दैछु । समय नै हुँदैन । अहिले क्याम्पस बिदा भएकाले अब एक महिना सिक्छु । सकेसम्म यसलाई निरन्तरता दिन्छु । सफलतासँगै चुनौती पनि थपिंदै जान्छन् । अहिले सानो छु, पारिवारिक कारणले सहानुभूति पाएकी छु । तर संधै यस्तो कुराले मात्र ‘करिअर’ अगाडि जान सक्दैन । त्यसैले व्यवसायिक क्षमता त बढाउनै पर्छ । पहिलो एल्बम स्मिताका गितहरु ‘नेचुरल भ्वाइस’ मा गाएको थिएँ  । त्यसलाई पनि सबैले मनपराई दिनुभयो । पहिलो एल्बमको सफलताबाट पाएको हौसलाले नै स्मिता–२ आउन सकेको हो ।
सबैलाई पढाइकै चिन्ता
म कक्षा ११ मा विज्ञान विषय पढ्दैछु । घरमा हजुरबा, हजुरआमा, ममीदेखि सबैकाे म राम्रो गायिका भइदिए हुन्थ्यो भन्ने चाहना छ । तर सँगसँगै गायनमा लाग्दा पढाईमा नकारात्मक प्रभाव पर्छ कि भन्ने चिन्ता पनि छ । कलेजमा साथीभाई र सर मेमहरुको चिन्ता पनि त्यही छ । अहिले मेरो पढाइलाई नै पहिलो प्राथमिकता दिने बेला हो । पढाई र गायन दुवै क्षेत्रमा सँगै अगाडि बढ्ने चाहना छ ।
सबैबाट हौसला पाएकी छु
हजुरबुबा राजनीतिक कामले बढी व्यस्त हुनुपर्छ । समय मिलाएर कुरा हुन्छ । उहाँ मेरो गाउने कलाको तारिफ गर्नुहुन्छ । नातिनी भविष्यमा राम्रो गायिका बनोस् भन्ने इच्छा  उहाँको छ । त्यस्तै हजुरआमा, ममी, ठूलोममी, मामा सबै खुसी हुनुहुन्छ । सबैले शुभकामना दिनुहुन्छ  । साथीहरु र सरहरुले पनि तिम्रो संगीत क्षेत्रमा भविष्य उज्ज्वल छ, अगाडि बढ भन्नुहुन्छ । स्मिता–२ को बिमोचनमा सरहरु र साथीहरु धेरै आएका थिए ।

प्रचण्डको नातिनी होइन, स्मिताको नामले चिनिन चाहन्छु
smita 2म प्रचण्डकी नातिनी हुँ । उहाँको परिवारको सदस्य हुन पाउँदा मलाई गर्व लाग्छ । त्यही कारण अरु मानिसहरुले गर्ने व्यवहार राम्रो हुने गरेको छ । स्कुल, कलेजमा उहाँको नामबाट चिनिँदा सजिलो पनि भएको छ । तर, सधैं परिवारको ठूलो मान्छेको नामबाट मात्र चिनिएर काम हुँदैन । म आफूलाई भविष्यमा ‘गायिका स्मिता’ भनेर चिनाउन चाहन्छु । स्मिताकै नामबाट अलग परिचय बनाउन चाहन्छु ।
भुवन केसी र रामकृष्णको प्रस्तावबारे
स्मिता–२ को बिमोचनमा वरिष्ठ चलचित्रकर्मी, गायक र संगितकारहरुको बाक्लो उपस्थिति थियो । त्यो मेरो हौसलाका लागि थियो भन्ने बुझेकी छु । सबैको प्रतिनिधित्व गरेर नायक भुवन केसी र गायक रामकृष्ण ढकालले मेरो एल्बमका बारेमा समीक्षा गर्नुभएको थियो । बोल्ने क्रममा रामकृण ढकालले मञ्चबाटै म अर्को एल्बममा स्मितासँगै गाउन चाहन्छु भन्ने घोषणा गर्नुभयो । रामकृष्ण ढकाल मलाई सानैदेखि मन पर्ने गायक हो । उहाँका ओराली लागेको हरिणको चाल भो, बाचुञ्जेलीलाई, चरीले त छाडेर गइगयो भन्ने गीतहरु सानैदेखि गाउँथें । भुवन केसीको फिल्म पनि हेरेको छु । उहाँको साथी म तिम्रो चलचित्र पहिलोपटक हेरेको थिएँ । राम्रो नायक हो । उहाँले पनि आफ्नो आगामी फिल्ममा गीत गाउन दिने घोषणा गर्नुभयो । उहाँहरुका कुरा सुनेर मलाई एकदमै खुसी लाग्यो । उहाँहरुले मेरो स्वर मन पराएर त्यस्तो घोषणा गर्नुभएको हो । नाम चलेका ठूला सेलीब्रेटीका यस्ता कुराले राम्रो गाउने रहेछु कि क्या हो जस्तो लाग्यो । म उहाँहरुको प्रस्ताव सहर्ष स्वीकार गर्छु । मैले कार्यक्रम सकिएपछि त्यो कुरा बताएको छु ।

वैद्य हजुरबाले पहिलाको गीतै सुन्नु भएनछ
स्मिता–२ को बिमोचनमा नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्येल पनि शुभकामना दिनुभयो । मेरो स्वरको प्रशंसा गर्नुभयो र भविष्यमा राम्रो गर्ने विश्वास व्यक्त गर्नुभयो । मलाई नातिनी भनेर सम्बोन गर्नुभयो । उहाँ हजुरबाको पूरानो साथी हो । मलाई पनि हजुरबाजस्तै लाग्छ । उहाँले हाम्रो परिवार संघर्षबाट आएको भन्दै जनवादी गीत गाउन सुझाव दिनुभयो । उहाँको सुझावलाई म सम्मान गर्छु । मैले यसअघि नै २०६६ सालमा पहिलो एल्बम स्मिता बजारमा ल्याएको थिएँ । त्यसमा थरिथरिका फूलहरु, आमा भन्ने, नयाँ नेपाल, हामीलाई खाते नभन,  कस्तो भाग्यजस्ता जनवादी र देश प्रेमले भरिएका गीतहरु गाएको छु । उहाँले सुन्न भ्याउनुभएनछ जस्तो लाग्यो । मैले कार्यक्रम सकिएपछि उहाँलाई त्यो कुरा सम्झाउन खोजेकी थिएँ । तर गइसक्नु भएछ ।
हजुरबा रुँदा नमज्जा लाग्यो
स्मिता–२ मेरी दिवंगत ठूलोममी ज्ञानु दाहालको सम्मानमा ल्याएको हुँ । कार्यक्रमको ब्यानरमा पनि त्यो लेखिएको थियो । सबैले बोलेपछि अन्तिममा हजुरबाको पालो थियो । उहाँ मञ्चमा जानुभयो । सुरुमै ठूलो ममीको प्रसंग कोट्याउने बित्तिकै उहाँलाई गाह्रो भयो । हजुरबा भक्कानिनुभयो । केहीबेर बोल्नै सक्नुभएन । मैले पनि ठूलो ममीलाई सम्झिइरहेको थिएँ । हजुरबा रोएपछि झन नराम्रो लाग्यो । ठूलो ममीको याद आयो, एकै छिनअघिको रमाइलो माहोल एकाएक सुनसानजस्तो भयो ।

रोयल्टीको पैसा अनाथको पढाइमा
मैले गीत गाएर आएको रोयल्टी अनाथ बालबालिकाको पढाइमा खर्च गर्ने सोच बनाएकी छु । दसैंपछि स्मिता फाउण्डेशन खोल्ने योजना छ । स्टेजमा गाएको, रोयल्टी, युट्युब, सिआरबीटी र पिआरबिटीबाट आएको पैसा फाउण्डेशनमा जम्मा गर्ने र सहिद परिवार, घाइते, अपाङ्ग, अनाथ, असहाय र टुहुराहरुको पढाइमा खर्च गर्ने योजना छ । मैले व्यवसायिक रुपमा गीत गाएको पनि त्यही भएर हो ।

धन्यवाद
मलाई सांगितीक यात्रामा हात समातेर हिंड्न सिकाउने आमा र हजुरआमा विशेष धन्वादयका पात्र हुनुहुन्छ । सधैं गाउन हौसला दिइरहनुहुने हजुरबुबा, ठूलो ममी, ठूलाबाहरु, मामा सबैलाई धन्यवाद नदिइरहन सक्दिन ।

एल्बम बजारमा ल्याउन सहयोग गर्ने महानुभावहरु चेतन सापकोटा, महाराज थापा डा‍ कृष्णहरि बराल,  डा‍ भोला रिजाल, आनन्द अधिकारी, रमेशराज भट्टराई, गैरे सुरेश, वसन्त सापकोटा, शिखर सन्तोष,  ए वन म्युजिसियन रेकर्डिङ स्टुडियो र  एल्बम बजारमा ल्याउन सहयोग गर्ने भाइब्स क्रियसन प्रालि र संगीतकार संघ नेपाललाई विशेष धन्यवाद दिन चाहन्छु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us