कटवालसँग बालुवाटारमा भिड्ने यस्तो थियो प्रचण्डको तयारी

काठमाण्डु टुडे २०७१ असोज ८ गते ७:१९ मा प्रकाशित

तत्कालिन प्रधान सेनापति रुक्माङगत कटवालले जननिर्वाचित सरकारलाई धेरैपटक चुनौती दिए । उनले नेपाली सेना  गैरराजनीतिक हुनुपर्छ भनेपनि भित्रभित्र ‘बर्दी yuvaraj 2राजनीति’ गरिरहेका थिए । कहिले माओवादी पीडितको ज्ञापनपत्र बुझेर, कहिले एक जना लडाकु पनि सेनामा छिर्न दिन्न भनेर त कहिले के अरु केही स्क्याण्डल मच्चाएर उनी आफ्नो राजनीतिक भूमिका देखाउँथे । राजतन्त्रकै छत्रछायाँमा हुर्किएको एउटा सैनिकले गरेका गतिविधि संघर्ष गरेर प्राप्त भएको गणतन्त्रान्त्रिक नेपालका जननिर्वाचित सरकारका लागि स्वकीर्य कदम थिएनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले उनीसँग लिएको स्पष्टीकरण र चिक्तबझ्दो स्पष्टीकरण नआपछि बर्खास्त गर्नुको कारण पनि यही थियो । कटवालले यी विषय आफ्नो हेराईबाट हालै प्रकाशित आफ्नो विवादास्पद पुस्तकमा समेटेका पनि छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सुरक्षा अधिकारीकै रुपमा रहेका पूर्वजनसेनाका कमान्डर युवराज दुलाल ‘शरद’ ले बालुवाटारमा भएका त्यसबेलाका गतिविधि देखि सैनिक  ‘कु’ हुने अवस्थामा अपनाइने सुरक्षा रणनीतिबारे बढो चाखलाग्दा  सूचना बाँडेका छन् । पढनुहोस, शरदकै शब्दमा ।

युद्ध लड्न हिंडेको कमाण्डर जसरी बालुवाटार आए कटवाल
२०६६ वैशाख १९ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्यो । एजेण्डा थियो, कटवाललाई प्रधानसेनापतिबाट बर्खास्त गर्ने र दोश्रो वरियताका कुलबहादुर खड्कालाई कायममुकायम प्रधानसेनापति नियुक्त गर्ने । मन्त्रिपरिषद्ले कटवाललाई हटायो । बामदेव गौतमको नेतृत्वमा सरकारमा सहभागी एमाले र अन्य पार्टीका मन्त्रीले निर्णयमा नोट अफ ‘डिसेन्ट’ लेखे । एउटाको बर्खास्ती र अर्काको नियुक्तिबारे जानकारी दिन कटवाल र खड्का दुवैलाई बालुवाटार बोलाइएको थियो । सँगै खबर गरेको भए पनि कटवालभन्दा खड्का पहिला बालुवाटार आइपुगे । मन्त्रिपरिषदको निर्णय थापा पाइसकेका कटवाल भने निकै ढिला आए । खबर भएको झण्डै एक घण्टापछि ।

स्कर्टिङको गाडी भद्रकालीबाट बालुवाटार आउन बढीमा १० मिनेट लाग्छ । तर कटवाल बीचैमा हराए । सैनिक स्रोतबाट खबर आइरहेको थियो, कि उनी विभिन्न दलका नेता र विदेशी शक्ति केन्द्रका मानिसहरुलाई फोन गरेर सरकारी निर्णयविरुद्ध उक्साउन लागिपरेका छन् । प्रधानमन्त्री कुलबहादुरभन्दा पहिला कटवालसँग कुरा गर्न चाहनुहुन्थ्यो । तर कटवाल आउन ढिला भएकाले कुलबहादुरसँगै पहिला कुरा भयो  । प्रधानमन्त्री र कुलबहादुर भित्र कुरा गरिरहेका बेला कटवाल हस्याङ–फस्याङ गर्दै आइपुगे । निकै हतास र आतंकित मुद्रामा थिए । हामीहरु प्रधानमन्त्रीको सचिवालयका कर्मचारीलाई हान्ने गोरुले जसरी हेरे । कडा र रुखो कुरा गरे ।  उनी बेचैन थिए । घरीयता र घरी उता गर्थे ।

धेरैपटक टेलफोनमा कुरा गरे । कहिले अंग्रेजी र कहिले नेपालीमा बोल्थे । मुख रातो थियो । शरीरमा पसिना आएको थियो । भित्र जतिसुकै ठूलो भुइँचालो गएको भए पनि बाहिर आफू शक्तिशाली छु भन्ने देखाउने व्यवहार देखाइरहेका थिए । उनको हाउभाउ हेर्दा यस्तो लाग्थ्यो कि उनी कुनै राष्ट्रिय युद्ध लड्न फौजको नेतृत्व गरेर मैदानमा निस्किएका छन् । अघिपछि कमाण्डो फोर्स थियो । उनले कम्मरमा पेस्तोल भिरेका थिए ।

बालुवाटारबाट पछि हिंडेका कटवाल कुलबहादुरभन्दा पहिल्यै भद्रकाली
करिब १५ मिनेटजति प्रधानमन्त्रीसँग कुरा गरेर कुलबहादुर अर्कै ढोकाबाट बाहिरिए । बालुवाटारमा भित्र जाने एउटा बाहिरिने अर्कै ढोका छ । वेटिङ रुममा बसेका कटवाल र कुलबहादुरबीच देखादेख भएन । तर कुलबहादुर बालुवाटारमै छन् भन्ने उनलाई थाहा थियो । सायद प्रधानमन्त्री र कुलबहादुरले आफूविरुद्ध ‘एक्सन’ को योजना बनाएको ठानेर कटवाल थप सशंकित र आतंकित देखिएका थिए । प्रधानमन्त्रीले कुलबहादुरलाई सरकारको निर्णयका बारेमा भन्नुभयो र चुनौतीपूर्ण अवस्थामा नेपाली सेनाको जिम्मेवारी सम्हाल्न लागेकामा बधाई दिनुभयो । कुलबहादुरले आफू कमाण्ड सम्हाल्न प्रतिबद्ध रहेको बताए । नेपाली सेना सबै आफ्नो कमाण्डमा आउन तयार रहेकामा प्रधानमन्त्रीलाई आस्वस्त तुल्याए ।

yuvaraj yuvarajअधिकांश जर्णेलहरु सरकारको निर्णयको पक्षमा र कटवालको विपक्षमा रहेको उनको भनाइ थियो । उनले सबै अधिकृतले आफूलाई साथ दिने पनि बताएका थिए । कुलबहादुर गएपछि प्रधानमन्त्री र कटवालबीच भेटघाट भयो । त्यस्तै १५ मिनेटजति कुरा भयो होला । प्रधानमन्त्रीले उनलाई तपाईंले सरकारको निर्णयलाई चुनौती दिन नखोज्नुहोला भनेर सुरुमै उनलाई ‘होपलेस’ बनाउन खोज्नुभयो । प्रधानमन्त्रीले स्पष्ट शब्दमा भन्नुभएको थियो कि , व्यक्तिगत आग्रह वा पूर्वाग्रहले नभई कटवालकै व्यवहारले उक्त कदम चाल्न सरकार बाध्य भएको हो ।

तपाईंलाई हटाइएको छ, तपाईं साइड लाग्नुस्, यदि त्यसो गर्नुभयो भने इतिहासले परिवर्तन संस्थागत खर्न खेलेको भूमिकाका लागि तपाईंको उच्च मूल्याङ्कन गर्नेछ । कटवाल गोलमटोल कुरा गरेर बाहिरिए । उनीभन्दा १५ मिनेटअघि नै कुलबहादुर कायममुकायम प्रधानसेनापतिको चिठी बुझेर सेनाको कमाण्ड सम्हाल्न भद्रकाली हिंडेका थिए । उनी फुर्सदले गएछन् । तर कटवाल बारुणयन्त्रको गतिमा ‘इमर्जेन्सी साइरन’ बजाएर सैनिक मुख्यालय पुगे । प्रधानसेनापतिको कुर्सीमा बस्ने सपना बनाएर हिंडेका कुलबहादुर कटवालले पहिल्यै आएर अड्डा जमाइसकेको देखेर छाँगाबाट खसेजस्तो भएछन् । त्यो बीचमा कटवालले जर्नेलहरुलाई फोन गरेर कुलबहादुरले बोलाएको बैठकमा नजान उर्दी जारी गरेका थिए ।
काँग्रेस–एमाले नेता कटवालसँग थुरुरु
कटवालले आफ्नो आत्मकथामा प्रचण्डले आफूलाई उच्च सम्मान गर्ने गरेको भन्ने दाबी पस्केका छन् । देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले कसैको अपमान गर्ने त कुरा भएन उनले दाी गरेजस्तो ‘उच्च सम्मान’ कहिल्यै गर्नुभएन । काँग्रेस–एमाले र अरु पार्टीका ठूला नेता कटवाललाई चिफसाब ‘आइस्यो’, ‘खाइस्यो’, ‘मर्जी होस्’, ‘हुकुम होस्’, ‘पाउकष्ट गरिस्यो’, ‘गाथमा कस्तो छ ?’ ‘ज्युनार गरिस्यो ?’ जस्ता भद्धा दरबारिया शब्दले सम्बोधन गर्थे । त्यसो गर्नेमा बहालवाला र पूर्वमन्त्रीहरु तथा सरकारका उच्च कर्मचारी पनि थिए । कतिपयले त ‘राजासाबेह’ सम्म भनेको सुनियो । सरकारको एउटा कर्मचारीको देश चलाउँछु भन्नेहरुले त्यसरी दलाली गरेको देख्दा हामी लाजले भुतुक्कै हुन्थ्यौं । जसले आफूलाई त्यस्तो गथ्र्यो उनीहरुप्रतिको कटवालको व्यवहार भने ठालुको जस्तो हुन्थ्यो । सामान्य मर्यादा पनि राखेको देखिन्नथ्यो । यस्तो लाग्थ्यो कि देशमा अझै राजतन्त्र छ र ज्ञानेन्द्रको सिंहसनमा कटवाल बिराजमान छन् । त्यसको पछाडि के कारण थियो हामी जान्दैनौं ।
कटवाललाई ‘तपाईं’ भनेको सुनेकै प्रचण्ड, बाबुराम भट्टराई र रामबहादुर थापाहरुको मुखबाट हो । तर पुस्तकमा उनको दाबी अर्कैअर्कै छ । सरकारले पदबाट हटाएपछि उनले काँग्रेस–एमालेका नेतालाई टेलिफोनमा नराम्ररी थर्काए । हाम्रो सूचना संयन्त्र निकै चुस्त थियो । कटवालका हरेक गतिविधिको मिनेटमिनेटमा हामीकहाँ वा भनौं प्रधानमन्त्री कार्यालयमा जानकारी आउने गथ्र्यो । उनले को–सँग के कुरा गर्थे, कसलाई भेट्थे, योजना के–कस्तो थियो, सबैबारे हामी जानकार थियौं । काँग्रेस–एमालेका शीर्ष नेता र सरकारका मन्त्रीहरुलाई कटवालले धम्क्याएका थिए । यो कुरा उनीहरु आफैंले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । सबैलाई उनले आफूमाथिको कारबाही फिर्ता नभए ‘गोलीले भुट्ने’ सम्मका धम्की दिएका थिए ।

उनको धम्कीका कारण काँग्रेस–एमालेका नेता थुरुरु भएका थिए । उदाहरणका लागि एमाले अध्यक्ष झलनाथ खनाल किन चीनको भ्रमण छोट्याएर फर्किए यो नै काफी हुन्छ । जबकि झलनाथ कटवालमाथि कारबाही हुनुपर्ने पक्षमा थिए । चीन जाने बेलामा उनले विमानस्थलमा भनेका थिए, ‘सरकारको आदेश नमान्ने प्रधानसेनापतिमाथि कारबाही हुन्छ, मैले प्रधानमन्त्री (प्रचण्ड) लाई गो अहेड’ भनेको छु । तर तिनै खनाल कटवालको थमौतीका लागि १४ दलले शीतलनिवासमा चढाएको ‘बिन्तीपत्र’ मा हस्ताक्षर गर्नेमा पहिलो नम्बरमा भए । सरकारको महत्वपूर्ण घटक एमालेबाट त्यतिबेला ठूलो राजनीतिक धोका भयो । जबकि एमालेले पहिल्यै हुँदैन भनेको भए कटवालमाथि ‘एक्सन’ नहुन सक्थ्यो । पछि झलनाथलाई प्रचण्डले नै प्रधानमन्त्री बनाइदिनुभयो । ‘बैगुणीलाई गणले मार्नु’ भन्ने नेपाली उखानजस्तो भयो । राजनीतिमा यस्ता नाटक बेलाबेलामा देख्न पाइन्छ ।
यस्तो थियो बालुवाटारमा सेनासँग भिड्ने योजना
कटवालसँग स्पष्टीकरण सोधेदेखि नै राजनीतिको पारो ह्वात्तै चढेको थियो । त्यसले प्रधानमन्त्रीले कुनै अनिष्टको अनुमान लगाउनुभएको थियो । उहाँले भन्नुभएको थियो कि ‘बालुवाटारमै बलिदान दिन तयार छु, तर कसैसँग झुकेर ज्यानको भिख माग्दिन ।’ प्रधानमन्त्रीको स्पष्ट निर्देशन हामीलाई के भन्नुभएको थियो भने सैनिक ‘कू’ गरेर मलाई गिरफ्तारीको तयारी गरियो भने जम्मा पाँच मिनेट गिरफ्तार हुनबाट जोगाउनुस्, त्यसपछि म सबै कुरा मिलाउँछु । उहाँले ५ मिनेट भनेकामा हामीले १५ मिनेटको तयारी गरेका थियौं । ‘हाइटेक’ सुरक्षा तयारी थियो । ‘कू’ भएको अवस्थामा सञ्चार माध्यम र टेलिफोनको लाइन पहिला काटिन सक्थ्यो । त्यही भएर तीनवटा स्याटेलाइट टेलफोन तयारी अवस्थामा राखिएको थियो । एउटा उहाँ (प्रचण्ड) सँग, अर्को सचिवालय (समीर दाहाल/प्रकाश दाहाल) सँग र अर्को मसँग ।
हामी ‘पीएलए’ का ११ जना प्रधानमन्त्रीको विशेष सुरक्षामा खटिएका थियौं ।

हामी पनि प्रधानमन्त्रीको सुरक्षामा खट्ने कुरा सरकारले औपचारिक निर्णय नै गरेको थियो । कटवाल काण्ड सुरु भएपछि प्रधानमन्त्रीमाथि ‘सेक्युरिटी थ्रेट’ बढ्यो । नयाँबजार (प्रचण्ड निवास) सुरक्षार्थ राखिएका अत्याधुनिक हतियार बालुवाटार ल्यायौं । सचिवालयको निजी नम्बर प्लेटको गाडीमा राखेर राति हतियार बालुवाटार भित्र्याइयो । एके–४७, गलिल, एम–१६, कोल्ट कमाण्डो, एसएमजी र पेस्तोलजस्ता हतियारहरु थिए । सचिवालयका पाँचजना नियमित रुपमा बालुवाटार बस्थे । उनीहरुका लागि पनि एकएक वटा पेस्तोलको व्यवस्था गरिएको थियो । हतियार चलाउन नजानेकालाई पनि सिकायौं । मैले एके–४७ र पेस्तोल बोकेको थिएँ । हतियार प्रधानमन्त्री निवासको माथिल्लो कोठामा सरसफाई गरेर तयारी हालतमा राखेका थियौं । पर्याप्त मात्रामा गोलीको व्यवस्था थियो । एउटा कुरा के स्पष्ट हुनुपर्छ भने हामीले बालुवाटारमा हतियार राखेर सेनासँग भिड्न खोजेका थिएनौं । सैनिक ‘कू’ भएको अवस्थामा प्रधानमन्त्रीको सुरक्षा गर्नु र आक्रमण भए आत्मरक्षा गर्नु हाम्रो उद्देश्य थियो । तर प्रधानमन्त्रीमाथि आक्रमण भएको भए प्रत्याक्रमण गर्ने तयारीमा हामी थियौं ।
दुवै प्रहरी सेनाको विपक्षमा
नेपाल प्रहरी र सशस्त्र प्रहरी कटवाललाई हटाउने सरकारको निर्णयका पक्षमा थिए । उनीहरुले जननिर्वाचित सरकारको निर्णय सिरोधार्य गरेका थिए । सशस्त्रका महानिरीक्षक सनतकुमार बस्नेत र नेपाल प्रहरीका महानिरीक्षक रमेशचन्द्र ठकुरी प्रधानमन्त्रीको ‘हटलाइन’ सम्पर्कमा थिए । उनीहरुले ‘जननिर्वाचित सरकारको निर्णय मान्न प्रहरी तयार छ र जस्तोसुकै अवस्था आए पनि सामना गर्न तयार रहेको छ’ सन्देश पठाएका थिए । भनाइ मात्र होइन, उनीहरुको व्यवहार पनि त्यस्तै थियो ।
प्रधानमन्त्रीका एडिसी नै कटवालका सुराकी
गिरिजाप्रसाद कोइरालाको पालासम्म प्रधानमन्त्रीको एडिसी क्याप्टेन हुन्थे । तर कटवालले प्रचण्ड प्रधानमन्त्री भएपछि एडिसीका रुपमा कर्णेल खटाए । त्यसमा पनि आफ्नै लंगौटीया अरुण पाल । उनले सरकार, माओवादी र प्रचण्डका गतिविधिको क्षणक्षणको सूचना कटवालकहाँ पुर्‍याउँथे । प्रधानमन्त्रीलाई उनका हर्कतबारे जानकारी थियो ।  त्यसैले पाल आफ्नो नजिक नभइदिए हुन्थ्यो भन्ने ठान्नुहुन्थ्यो । कतिपय ठाउँमा जाँदा उनलाई लानु हुँदैनथ्यो ।  कर्णेल पालले कहिल्यै प्रधानमन्त्रीको सुक्येरिटीको भूमिका गम्भीरतापूर्वक निर्वाह गरेनन्, बरु कटवालको प्रवक्ताका रुपमा काम गरे । कटवाललाई स्पष्टीकरण सोधेदेखि नै उनी सरकारको कदमको खुलेआम विरोध गर्थे । त्यसलाई स्वीकार गर्न नुहने भन्दै मातहतका सैनिक अकिधृत र जवानलाई उक्साउँथे । अरु सुरक्षाकर्मी उनको व्यवहार र शैलीबाट रुष्ट थिए । पालबाहेक बाँकी सबै सरकारको पक्षमा थिए र प्रधानमन्त्रीको सुरक्षामा गम्भीर थिए ।
कटवालले ‘लडाकु केटा’हरु भन्दा
कटवाल रानजीतिक रुपमा हारेको सेनाका कमाण्डर थिए र हामी जितेका सेना थियौं । स्वभावत हाम्रो मनोबल माथि थियो । उनी राजतन्त्र जोगाउन लडेका, राजतन्त्र जाँदा टुलुटुलु हरेर बस्न बाध्य भए । हामी गणतन्त्र ल्याउन लडेका, हाम्रो उद्देश्य सफल भयो । तर हामीलाई उनले असाध्यै हेप्थे । त्यसो हुनुमा उनीभित्र रहेको आग्रह, शासकीय रवाफ आदिले काम गरेका होलान् । प्रधानमन्त्री भेट्न कहिले बालुवाटार त कहिले सिंहदरबार आउँथे । जतिपटक उनी प्रधानमन्त्री भेट्न आउँथे, त्यत्ति नै पटक कर्णेल अरुण पाल प्रधानमन्त्रीका एडिसी) लाई उनले भनेका हुन्थे कि, ‘म त्यहाँ आउँदैछु, मेरो नजरमा ती ‘लडाकु केटा’हरु पर्नुभएन । पालले हामीलाई नम्र भएर भन्थे, ‘चिफसाब को सवारी’ हुँदैछ, सरहरु केही समय साइड लागिदिनुपर्‍यो ।’ तर हामीले कहिल्यै त्यो कुरा मानेनौं ।

किनकी हामी पनि रहले होइन, सरकारले निर्णय गरेर खटिएका थियौं । राज्यले हामीलाई सुविधा दिएरै त्यहाँ खटाएको थियो । म उनलाई भन्थें कि ‘कटवालले तपाईंलाई आदेश दिएका होलान्, हामीलाई त होइन, मैले भनेको हुँ, उनीहरु मान्दैनन् भन्दिनुस् ।’ उनी चुप लागेर जान्थे । कटवाल आउने बेला भएपछि हामी प्रधानमन्त्रीको वरिपरि बस्थ्यौं । हामीलाई चाहिं केही भन्न सक्थेनन् । गएपछि ‘फेरि आज पनि मैले ती लडाकु केटा दुख्नुपर्‍यो होइन ?’ भन्दै अरुण पाललाई गाली गर्थे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us