काठमाण्डु, ६ असोज– अनसन बसेकै बेला वीर अस्पतालमा निधन भएका नन्दप्रसाद अधिकारीका छोरा नुरप्रसादले बाबुको शव नउठाउने घोषणा गरेका छन् ।
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईलाई जेल नहालेसम्म शव नउठाउने बताए । उनले आफूले बाबुको किरिया पनि नगर्ने बताए ।
नुरप्रसादले आफू माओवादी र प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध हतियार उठाउने तयारीमा रहेको बताए । ‘प्रचण्ड र बाबुरामलाई जेल नहालेसम्म शव उठ्दैन’, नुरप्रसादले काठमाण्डु टुडेसँग भने, ‘होइन भने म हतियार उठाउँछु ।’ नुरप्रसादले आफ्नो निशानामा प्रचण्ड, बाबुराम र प्रधामनमन्त्री सुशील कोइराला रहेको उल्लेख गरे ।
बाबुआमालाई अनसनमा राखेर ‘डलर खेती’ गरेको आरोप लागेपछि उनी पछिल्लो आठ महिनायता वीर अस्पताल गएका छैनन् । बाबुको मृत्युको खबरपछि पनि उनी अस्पताल गएनन् । उनले यसअघि जान नदिएको भन्दै अब पनि नजाने बताए ।
०६१ सालमा चितवनमा मारिएका छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै पत्निसहित अनसन बसेका अधिकारीको सोमबार निधन भएको हो ।