काठमाण्डु, असोज ६ – एमाले सचिव प्रदिप ज्ञवालीले मन्त्रीको हेरफेर र हारेका मानिसलाई मन्त्री बनाएको भन्ने नेता माधवकुमार नेपालको आरोपलाई औचित्यहिन भएको तर्क गरेका छन् ।
सचिव ज्ञवालीले एमालेमा दुई ठाउँमा हारेका नेतालाई प्रधानमन्त्री बनाएको नजिर भएको तर्क गर्दै भने– माधव नेपाल पनि दुई–दुई ठाँउबाट हार्नु भएको थियो । उहाँलाई हामीले प्रधानमन्त्री बनाउने निर्णय गर्यौ । त्यो बेला उहाँको आवश्यकता थियो । अहिले पनि संविधान निर्माण र पार्टीलाई अघि बढाउन केही नेताहरुलाई जिम्मेवारी दिनु आवश्यक थियो र दिएका हौ ।
ज्ञवालीले पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालवीच सर–सल्लाह गरेर नै संविधान सभामा सरकारबाट मनोनित गर्ने २६ सभासदमा ८ जनाको मनोनयन भएको स्पष्ट पार्दै अहिले मन्त्री पनि दुवै नेताहरुको सल्लाहबाटै हेरफेर तथा नियूक्ती भएको खुलासा गरेका छन् ।
उनले सरकारमा पार्टीले आवाश्यक ठानेको जो कोहीलाई पनि मन्त्री बनाएर पठाउन सकिने भन्दै कसैले त्यसको आलोचना गर्नुको औचित्य नरहेको स्पष्ट पारेका छन् ।
यद्धपी ज्ञवालीले पार्टीभित्र यस्ता विवादहरु नझिक्न पनि नेता नेपाललाई आग्रह गरेका छन् । उनले एमालेभित्रको विवादले संविधान निर्माणमा समेत असर पर्ने बताउँदै पार्टी एक भएर अघि बढ्नुपर्ने बताएका छन् ।