भुइँको ५० रुपियाँ टिप्न लगाएर यसरी लुटियो २ लाख

काठमाण्डु टुडे २०७१ असोज ६ गते २:४८ मा प्रकाशित

चितवन, ६ असोज– भुइँमा देखेको ५० रुपैयाँ टिप्न खोज्दा एक व्यक्तिले बैंकमा जम्मा गर्न लागेको दुई लाख रुपैयाँ गुमाएका छन् ।
नारायणगढस्थित हिमालयन बैंकमा आइतबार मध्यान्ह दुई लाख रुपैयाँ जम्मा गर्न लागेका रेवती ढकाललाई कुनै अपरिचितले भुइँमा खसेको ५० रुपैयाँ देखार्इ दिएको थियो । भुइँको रकम टिप्न झुकेका बेलामा उनको दुई लाख रुपैयाँ लुटिएको हो ।
सरस्वती सप्लायर्सका कर्मचारी ढकाल सवा ११ बजे बैंकमा डिपोजिट भौचर भर्दै थिए । दुई लाख रुपैंयाको बण्डल टेबलमा राखेर भौचर भर्दै गर्दा ढकालाई एकजना अपरिचतले ‘तपाइँको पैसा भुइमा खस्यो’ भनेका थिए । तत्काल तल हेर्दा ढकालले ५० रुपैयाँ देखे ।

त्यही टिप्न झुकेका बेला ढकालको दुई लाख रुपैयाँ लुटिएको थियो । बैंकको सिसी क्यामेरामा युवकले दुईपटकसम्म पैसा भुइँमा खसालेर  ढकाललाई टिप्न आग्रह गरेको देखिन्छ ।

पहिलोपटक नसुने पनि दोस्रोपटक ढकालले सो रकम टिप्न कुर्चीबाट उठेर पछाडि जाँदा अर्का व्यक्तिले अगाडिबाट आएर दुई लाख रुपैयाँको बन्डल समाएर बाहिरिएको दृश्य सिसी क्यामेरामा कैद भएको छ ।

रकम हराएको केहीबेरपछि मात्रै ढकालले घटनाबारे बैंकको सुरक्षागार्डसँग सोधपुछ गरेका थिए । सुरक्षागार्डले सो रकम र शंकास्पद गतिविधिबारे जानकारी नभएको बताएपछि ढकाल बैंकबाट बाहिर निस्केको दृश्य पनि सिसी क्यामरामा कैद भएको छ । क्यामेरामा कैद भएको भिडियो हेर्दा मिलेमतोमै रकम लुटिएको आशंका गरिएको छ ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us