तीन पार्टीबीच एकता

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ९:५५ मा प्रकाशित

काठमाण्डु, २३ भदौ – डिवि थापाले नेतृत्व गरेको राष्ट्रिय पुनर्जागरण पार्टी, युवराज सफलले नेतृत्व गरेको नेपाल गणतान्त्रिक जनता पार्टी र पिएन सापकोटाले नेतृत्व गरेको गणतान्त्रिक पार्टी नेपालवादबीच एकता भएको छ ।

partyसोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि उनीहरुले नेपालवादको सिद्धान्तलाई संरक्षण एवम प्रर्वद्धन गर्ने मूख्य उद्येश्यका साथ तीनवटा पार्टीबीच एकता भएको जानकारी दिएका छन् । पार्टी एकता सँगै नयाँ पार्टीको नाम भने गणतान्त्रिक पुनर्जागरण पार्टी नेपालवाद रहने जानकारी समेत दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष डीवि थापाले मुलुक र जनताको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टीले काम गर्ने जाकारी दिँदै अहिलेका प्रमुख राजनीतिक पार्टीहरु भने अझै पनि सच्चा गणतन्त्रवादी हुन नसकेको आरोप लगाएका छन् । थापाले नेपालमा आफ्नो पार्टी साँच्चै नेपालवादी सिद्धान्तको प्रतिपादन गरी राष्ट्र र जनताको पक्षमा काम गर्ने दृढ अठोटका साथ अघि बढ्ने पनि विश्वास व्यक्त गरेका छन् ।

पार्टीका बरिष्ठ उपाध्यक्ष युवराज सफलले पनि नेपालवादी सिद्धान्तलाई मूख्य आधार मानेर नेपाल र नेपालीको हितमा केही गर्नुपर्छ भन्ने भावनाका साथ आफूहरुले तीन पार्टीको एकता गरेको प्रष्ट पारेका छन् । सफलले नेपालमा थुप्रै विदेशी वादबाट राजनीतिक पार्टीहरु सञ्चालन भएको बताउँदै ती पार्टीहरुले नेपाल र नेपालीको हितमा कहिल्यै पनि काम गर्न नसक्ने आरोप लगाएका छन् ।

त्यस्तै सचिव केएन बस्यालले पार्टी एकिकरण सँगै आफूहरुले तत्काल प्रधानमन्त्री लगायत विभिन्न निकायलाई आफ्नो मागपत्र पेश गर्ने जानकारी दिएका छन् । उनले आफूहरुको मागपत्रमा नेपालवादको वारेमा बृहत्त अभियान सञ्चालन गर्ने कुरा पनि बताएका छन् । बस्यालले भने–विगतमा पनि हामीले मुलुकको हितका लागि सकारात्मक भूमिका निर्वाह गरेका थियौं ।

उनले आगामी दिनमा नेपालवादलाई विकास गर्दै नेपालवादकै माध्यमबाट समृद्ध नेपाल बन्नेमा आफू विश्वस्त रहेको समेत बताएका छन् ।
नयाँ पार्टीमा ८ पदाधिकारी समेत रहने जानकारी दिईएको छ । पदाधिकारीको अध्यक्षमा डी.वि. थापा, बरिष्ठ उपाध्यक्षमा युवराज सफल, महासचिवमा पीएन सापकोटा, उपमहासचिवमा जेएन घिमिरे, सचिवमा केएन बस्याल, सहसचिवमा सरस्वती भट्ट, सहकोषाध्यक्षमा राम बुढाथोकी र सदस्यमा द्धय सुमित पनेरु र पुरुषोत्तम गजुरेल छन् भने ३१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि रहेको जानकारी दिईएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us