गाेरखामा भट्टराई पक्षले खाेल्याे छुट्टै पार्टी कार्यालय

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ८:४१ मा प्रकाशित

गाेरखा, २३ भदाै – केही समयअघि समानान्तर जिल्ला कमिटी गठन गरेको एमाओवादी नेता बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका कार्यकर्ताले छुट्टै पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् ।

Baburam-Bhattarai_AP_20120907053211 आफूलाई संस्थापन एमाओवादी दाबी गर्दै भट्टराई विचार समूहले हरमटारीस्थित जिविसचोक अगाडि पार्टी कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

 प्रचण्ड विचार समूहका जिल्लास्तरीय नेताले आफूहरुलाई निषेधको राजनीति गरेकाले बाध्य भएर समानान्तर जिल्ला कमिटी गठन गरेको बताउँदै आएको भट्टराई विचार समूहले सोमबारदेखि विधिवत् रुपमा पार्टी कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।

 अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईबीच बढेको वैचारिक मतभेद अन्त्य गर्ने सहमति भए पनि गोरखामा भने दुई पक्षबीच गहिरो मतभेद छ । केन्द्रमा पार्टी नफुटे पनि भट्टराईकै गृह जिल्ला गोरखामा भने छुट्टाछुट्टै पार्टी कार्यालय सञ्चालनमा आएको छ ।

 नेता भट्टराईले संविधानसभा निर्वाचनमा गोरखा क्षेत्र नं १ बाट विजयी हासिल गरेपछि संविधानसभा सदस्यको कार्यालयको नामले छुट्टै कार्यालय सञ्चालनमा थियो । एमाओवादी भट्टराई समूहले संविधानसभा सदस्यको सम्पर्क कार्यालय लेखेको बोर्डभन्दा माथि पार्टी कार्यालय लेखेर बोर्ड झुन्ड्याएको छ ।

 भट्टराई विचार समूहका समानान्तर एमाओवादीका जिल्ला सचिव रमेश पोखरेलले केन्द्रमा पार्टी एक रहे पनि गोरखाको आवश्यकतालाई ध्यान दिएर छुट्टै पार्टी खोलेको बताए ।

“छुट्टै पहिचान दिन पार्टी कार्यालय खोलेका हौँ” उनले भने, “गोरखाको आवश्यकताको आधारमा पार्टी कार्यालय खोलियो ।” पोखरेललाई एमाओवादी प्रचण्ड विचार समूहले समानान्तरतर्फ लागेको भन्दै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको छ । पोखरेल प्रचण्ड विचार समूहले गठन गरेको जिल्ला कमिटीको सहसचिव थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us