बाबुरामको ‘मतियार’ बनेको आरोपमा वैद्य माओवादीद्वारा एक नेतामाथि कारबाही

काठमाण्डु टुडे २०७१ भदौ २३ गते ३:३७ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ लाई निलम्बन गरेको छ ।

anil sharmaपार्टी नेतृत्वविरुद्ध अनर्गल आक्षेप लगाउनुका साथै मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकाले निलम्बन गरिएको सो पार्टीले जनाएको छ ।
महासचिव रामबहादुर थापाद्वारा जारी गरिएको विज्ञप्तिमा शर्मालाई अनिश्चितकालका लागि निलम्बन गरिएको उल्लेख छ । शर्माले एनेकपा माओवादीका एक कार्यकर्तासँग संयुक्त विज्ञप्ति प्रकाशित गरी नेतृत्वका विरुद्ध अनर्गल आक्षेप लगाएको थापाको विज्ञप्तिमा छ ।

शर्माले चितवनको भतरपुरस्थित कृष्णपुरमा रहेको एकीकृत माओवादीको कार्यालय बिक्री गरी दुई पार्टीबीच रकम बाँडफाँटको तयारी भइरहेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

पार्टी विभाजन भए पनि नेकपा–माओवादीले उक्त कार्यालयमा आफ्नो स्वामित्व दाबी गर्दै आएको छ । शर्माले केही दिनअघि एमाओवादीको भट्टराई पक्षधर चितवन जिल्ला सदस्य रमेश रेग्मी ‘अमर’ सँय संयुक्त विज्ञप्ति प्रकाशित गरी जग्गा बेच्न लागिएको भन्दै नेतृत्वविरुद्ध कडा आलोचना गरेका थिए ।
शर्मा बाबुरामको ‘मतियार’ भएकाे आरोप
नेकपा–माओवादीका एक केन्द्रीय सदस्यले शर्मा एमाओवादी नेता बाबुराम भट्टराईको डिजाइनमा चलेको आरोप लगाए । उनले पार्टी केन्द्रीय सदस्यले अर्को पार्टीका जिल्ला सदस्यसँग संयुक्त हस्ताक्षर गर्नु आश्चर्यको विषय भएको उल्लेख गरे ।

दुई पार्टीबीच केन्द्रमा सहकार्यको सम्भावना बढ्दै गएका बेला सहकार्य भाँड्ने नियतका साथ शर्माले गतिविधि गरेको आरोप संस्थापनको छ । शर्मा सचिव नेत्रविक्रम चन्द निकट मानिन्छन् ।

ती नेताले जग्गा बेच्ने कुनै तयारी नरहेको अवस्थामा अनावश्यक किचलो झिकेको आरोप लगाए । ‘एमाओवादीको संस्थापन र नेकपा–माओवादीको संस्थापन पक्षले जग्गा बेच्न लागेको काल्पनिक प्रश्न उठाएर केन्द्रमा बन्दै गएको सहमतिको वातावरण बिगार्न खोजे’, ती नेताले काठमाण्डु टुडेसँग भने, ‘पदीय हिसाबले पार्टीको केन्द्रीय सदस्यले अर्को पार्टीको जिल्ला स्तरीय कार्यकर्तासँय संयुक्त विज्ञप्ति जारी गर्न मिल्छ ?’

उनले एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र नेकपा–माओवादीका सचिव रामबहादुर थापा ‘बादल’को गृहल्लिाबाट बाबुराम र नेत्रविक्रम चन्द पक्षले बखेडा झिक्नुको राजनीतिक कारण रहेको जिकिर गरे । ‘विप्लवको प्रवक्ता भन्ने अनि बाबुरामको कार्यकर्तासँग विज्ञप्तिमा सँगै हस्ताक्षर गर्ने ?’ उनले भने, ‘प्रचण्ड र बादलको गृहजिल्लाबाट बाबुराम र विप्लवबीचको कार्यगत एकताको व्यवहारिक कार्यान्वन भएको छ ।’

बाबुरामले भारतको पटनाबाट मोहन वैद्य र सिपी गजुरेलसहित आफूलाई गिफ्तार गर्न लगाएको भन्दै पुस्तक लेखेका शर्मा एकाएक बाबुरामको मान्छे भएको आरोप वैद्य माओवादी संस्थापनले लगाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us