काठमाण्डु, २३ भदौ– सरकारले दसैं, तिहार र छठ पर्वका लागि आगामी बुधबारदेखि लामो रुटका बसको टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अहिले काउन्टर पुग्ने यात्रुले टिक सकिएको जवाफ पाउन थालेका छन् ।
यात्रुको सुविधालाई ध्यान दिएर सरकारले सबै बसको टिकट बुकिङ एकैपटक २५ गते बिहान सात बजेबाट खुला गर्ने निर्णय भदौ ५ गते गरेको थियो ।
घट्टेकुलो बस्दै आएकी बबिता अधिकारीले असोज १२ गतेका लागि झापा जान टिकट काटिसकिन् ।
उनले गौशालास्थित एक होटलमार्फत नमस्ते डिलक्सका तीनवटा टिकट लिएकी हुन् । उनका आफन्त सन्तोष पौडेल पनि झापाकै दमकका लागि टिकट लिन विभिन्न बसका काउन्टर पुगे तर पाएनन् ।
त्यसपछि उनले पनि सोही होटलमार्फत शुक्रबार दुईवटा टिकट लिए । ‘दिदीहरु पनि घर जाने भएपछि हामीलाई थप दुईवटा टिकट चाहिएको थियो तर सिट छैन भन्दै कुनै काउन्टरले दिएनन्’ उनले भने ।
भक्तपुर बस्दै आएकी इटहरी सुनसरीकी निरु दाहालले फुलपातीका दिनको टिकट बुकिङ गरिसकिन् । नोवेल एकेडेमीमा कक्षा ११ मा अध्ययनरत उनले भनिन् ,‘कोटेश्वरबाट मेट्रो डिलक्समा टिक पाएँ ,कही दिनअघि बुकिङ गरे तर अहिले त पाइँदैन रे ।’
कोटेश्वरमा काउन्टर रहेको महालक्ष्मी डिलक्समा घटस्थापनाको दिनदेखि नवमीसम्मका लागि टिकट छैन । काउन्टरका एक कर्मचारीले भने ,‘तपाइलाई चाहिएको भए अर्को गाडी थपिएपछि मात्र पाउनुहुन्छ ,पछि आउनुहोस् ।’
अन्नपूर्ण पोष्टबाट