झापा , २२ भदौ– झापा शनिश्चरेका दुई दाजुभार्इ अमेरिकाको पीआर त्यागेर पशुपालनमा लागेका छन् ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहेका बेला पथरी शनिश्चरे नगरपालिका–५ का ज्ञानेन्द्र भित्रिकोटी र योगेन्द्र भित्रीकोटी अमेरिकाको पीआर त्यागेर पशुपालनमा लागेका हुन् ।
उनीहरु चार वर्षसम्म अमेरिकाको वासिङ्टन डिसीमा बसेर नेपाल फर्केका हुन् । उनीहरुले शनिश्चरे नगरपालिकामा गोठ बनाएर पशुपालन गरेका छन् ।
उनीहरूले भदौ पहिलो हप्तादेखि आफ्नै दुई बीघा जमिनमा गोठ बनाएर पशुपालन गर्न थालेका हुन् । उनीहरूले हाँस, कुखुरा, बाख्रा र गाईका साथै माछापालनसमेत गरेका छन् ।
अमेरिकामा होटलमा भाँडा माझ्ने काम गर्नुपर्दा अपमानित महसुस भएपछि आफ्नै देश फर्किएर व्यवसाय थालेको ज्ञानेन्द्रले बताए । ‘अर्काको देशमा जुठो भाँडा माझ्नुभन्दा आफ्नै देशमा केही गरौं भनेर आएका हौं, उनले भने । उनले फार्ममा अहिले २० वटा दुहुना गाई रहेको बताए ।