६ सय ५० किलो रक्तचन्दनसहित तीन पक्राउ

काठमाण्डु टुडे २०७१ भदौ २२ गते १३:५३ मा प्रकाशित

गोरखा, २२ भदौ– प्रहरीले गोरखाको आरुघाटबाट ६ सय ५० किलोग्राम रक्तचन्दनसहित तीनजनालाई पक्राउ गरेको छ ।
धादिङबेशीबाट आरुघाट जाँदै गरेको ग १ ख ४१२९ नम्बरको मिनिट्रकमा राखेर लगिएको रक्तचन्दन आरुचनौटे–१ आरुघाट बजारमा चेकजाँचका क्रममा बरामद भएको हो ।

प्रहरीले मकैको बोराले छोपेर लगिएको २६ बोरा रक्तचन्दन बरामद भएको जनाएको छ । बरामद गरिएको रक्तचन्दनको मूल्य ३ करोडभन्दा बढी पर्छ ।

प्रहरीले रक्तचन्दनसँगै गोरखा केराउला–१ का आइतराम गुरुङ, मिनिट्रक चालक धादिङका राजु सिलवाल र सहचालक सूर्य तामाङलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us