काठमाण्डु, १५ भदौ- एकीकृत माओवादीसहित प्रतिपक्षी दलले आइतबार पनि संसद् बैठक अवरुद्ध गरेका छन् ।
चार बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले संसद अवरुद्ध गरेका हुन् ।
ती दलले संविधानसभा निर्वचनपछि प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्वयन नभएसम्म संसद चल्न नदिने चेतावनी दिएका छन् ।
काँग्रेस–एमाले सहमतिप्रति इमान्दार नरहेको भन्दै विपक्षीले ती दल संविधान निर्माणमा गम्भीर नभएको आरोप लगाउँदै आएका छन् ।
सत्तारुढ काँग्रेस–एमालले भने संविधानसभाको समानान्तर हुने गरी संविधानसभाबाहिर कुनै समिति गठन गर्न नसकिने बताउँदै आएका छन् । यसअघि शुक्रबार पनि विपक्षीले संसद बैठक अवरुद्ध गरेका थिए ।