काठमाण्डु, १५ भदौ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्ना भार्इ गणेश थापालाई सभासद मनोनयनका लागि सिफारिस गर्नु आफ्ना निम्ति कठिन र असहज निर्णय भएको बताएका छन् ।
गणेश थापाको मनोनयनबारे अधिकांश नकारात्मक प्रतिक्रिया आएको भन्दै केही क्षुद्र टिप्पणीहरुबाहेक अधिकांश प्रतिक्रियालाई ग्रहण गर्ने बताएका छन् । उनले आफ्नो भाई भएका कारण भन्दा एन्फासन्बन्धी अनियमितता छानबिन प्रसंगका कारण आलोचना भएको दाबी गरेका छन् ।
थापाले फेसबुकमार्फत सार्वजनिक गरेको धारणा यस्तो छ:–
संविधानसभामा गणेश थापाको मनोनयनको सिफारिस मेरो निमित्त अत्यन्त कठिन र असहज निर्णय थियो । गणेशको मनोनयनसँगै सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रतिक्रियाहरुको बाढी नै आयो । अधिकांश नकरात्मक थिए ।
उसको योग्यता र क्षमताका बारेमाभन्दा पनि पार्टी अध्यक्षको भाई र एन्फासम्बन्धी अनियमितताको छानबिनको प्रसंगले बढी प्रतिक्रिया जन्मायो । त्यो बिलकुल स्वभाविक थियो । कतिपयले मेरो छविमा लाग्न सक्ने दागका बारेमा पनि चिन्ता व्यक्त गर्नुभयो ।
केही क्षुद्र टिप्पणीहरुबाहेक अधिकांश प्रतिक्रियाहरुलाई मैले अत्यन्त सहृदयताका साथ ग्रहण गरेको छु । गणेश मेरो सहोदर भाई हो र उसले नेतृत्व गरेको एन्फा अहिले विवादको घेरामा पनि छ । यी दुवै यथार्थलाई आधार बनाई प्रतिक्रियाहरु आउनु स्वभाविक हो ।
ती सबै प्रतिक्रियाहरुबारे अहिले नै म सवाल जवाफ गर्न चाहन्न । समय बलवान छ र समयले सबै आरोप प्रत्यारोपको छिनोफानो गर्नेछ ।
प्रधानमन्त्री सुशील कोईरालाले स्पष्ट शब्दमा संविधानसभाको गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उमेदवार भएकाबाहेक र राष्ट्रिय जीवनमा ख्याति प्राप्त गरेको व्यक्तिहरुमध्येबाट नाम सिफारिस गर्न आग्रह गरेको अवस्थामा हाम्रो अगाडि छनौटको सीमा र बाध्यताका रेखाहरु कोरिएका थिए ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बहुसंख्यक गणेशको पक्षमा रहेको भएता पनि म अनिर्णित र किम्कर्तव्य बिमुढको अवस्थामा थिए । मन र मस्तिष्कका बीचमा अन्तरद्वन्द निकै समय कायम रह्यो । मेरो अगाडि स्पष्ट रुपमा दुई वटा बाटोहरु थिए ।
एउटा सहज र सरल बाटो, अर्को कठिन र असहज बाटो । संधै झै र शायद स्वभाववश समेत मैले यसपटक पनि अप्ठेरो बाटो नै रोझें । मन र मस्तिष्कको द्वन्द्वमा मनले जित्यो । मैले गणेश थापाको नाम सिफरिस गरें। मैले यो निर्णयलाई समयको कसीमा छोडीदिएको छु । खेलजगतको हस्तिको रुपमा पहिचान बनाएका गणेश थापाको मनोनयन राष्ट्रको बृहत्तर हितमा उपयोगी हुनेछ भन्नेमा म विश्वस्त छु । राप्रपा नेपालको निमित्त गणेश थापा महत्वपूर्ण सम्पति हुनेछ भन्नेमा मलाई द्विविधा छैन ।
जहाँसम्म एन्फाको अनियमितताको प्रश्न छ, त्यसबारे म कुनै टिप्पणी गर्न चाहन्न । कानुनभन्दा माथि कोही छैन । त्यसबारे कानुनले आफ्नो बाटो तय गर्ने नै छ ।