करेण्ट लागेर आमाछोरा गम्भीर घाइते

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ४:५९ मा प्रकाशित

महोत्तरी, १५ भदौ– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिसबासमा निर्माणाधीन बेलिब्रिजमा करेन्ट लागेर आमाछोरा गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा मेघनाथ गोरहन्ना–७ की २७ वर्षीया मञ्जुसिंह दनुवार र उनका छोरा दुई वर्षीय आयुस रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पैदल यात्रुलाई हिँड्नका लागि सो पुलमा बेलिब्रिज निर्माण भइरहेको छ ।
निर्माणाधीन पुल भएर जाँदै गरेका आमाछोरालाई बेलिब्रिज वेल्डिङ गर्नका लागि ओछ्याइएको बिजुलीको तार सर्ट भई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक अकोश झाले बिजुलीको तारबाट आगोको मुस्लो निस्केर आमाछोराको हात र शरीरका विभिन्न भाग जलेको बताए । घाइते आमाछोराको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us