काठमाण्डु, १५ भदौ– सौतेनी आमाको अपहरण गरी हत्या गर्न खोजेको आरोपमा पक्राउ परेकी मोडल ऋचा धमलालाई अदालतले पुर्पक्षका लागि
थुनामा पठाएको छ ।
भक्तपुर जिल्ला अदालतले बिहीबार उनीसहित ६ जनालाई कारागार चलान गर्न आदेश दिएको हो । सौतेनी आमा ममता घिमिरे धमलालाई अपहरण गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले गत असार १५ मा ऋचा, उनका प्रेमी आसमान तामाङसहित ६ जनालाई पक्राउ गरेको थियो ।
पारिवारिक तथा आर्थिक विवाद भएपछि ऋचाले १५ लाख रुपैयाँको सुपारी दिएर सौतेनी आमाको हत्या गर्न लगाएकी थिइन् । अपहरण गर्न गएका बेला दुई युवकलाई पक्राउ गरी प्रहरीले उनीहरुको योजना असफल बनाएको थियो । ऋचा र आसमानसहित सुरेश तामाङ, शेषमान तामाङ, सुशील नापित र राजेश गुरुङ हत्या योजनामा संलग्न थिए ।
अपहरण गर्न गएका सुरेश र शेषमानलाई प्रहरीले ममताकै कोठाबाट पक्राउ गरेको थियो ।
दोश्रो बिहेपछि बाबुले आफ्नी आमाको हत्या गरेकाले बदला लितन सौतेनी आमाको अपहरण गरी हत्या प्रयास गरेको ऋचाले प्रहरीसँगको बयानमा बताएको महानगरीय प्रहरी बृत्त ठिमीका प्रमुख डिएसपी भीमकिरण बोगटीले बताए ।
नयाँ पत्रिकाबाट