काठमाण्डु, १५ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हिन्दूधर्मको प्रचार गरिरहेका दुई बंगलादेशीसँग नेपाली नागरिकता भेटिएपछि
सुरक्षा अधिकारीहरु झस्किएका छन् ।
१९ साउनमा प्रहरीले विशेष सुराकीका आधारमा हमाइस इस्लाम र रियल मियाँसँग नेपाली नागरिकता भेटेको हो ।
पशुपति मन्दिरबाट पक्राउ परेका बंगलादेशी नागरिक इस्लाम र मियाँले बाँकेको कटरकुइया गाविस–४ बाट नेपाली नागरिकता लिएका थिए । इस्लामले जाहिर अली साई र मियाँले असगा अली साईको नाममा नागरिकता लिएका हुन् ।
नेपाल प्रहरीको विशेष व्युरोले उनीहरुको पृष्ठभूमि अनुसन्धान गरिरहेको छ । नेपाली नागरिकता लिनुको उद्देश्य शंकास्पद भएको,तर खुल्न नसकेकाले उनीहरुमाथि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।
गत वैशाखमा पक्राउ परेका बर्मेली नागरिक शंकरप्रसाद गुरागाइँ तथा भारतीय नागरिक सुरेश अधिकारीसँग नेपाली नागरिकता भेटिएको थियो । भारतमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुले झापा जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएका थिए । गुरागाईले झापाको बनियानी–४ बाट तथा भारतको मणिपुर सेनापति घर भएका अधिकारीले सतासीधाम–९ बाट नेपाली नागरिकता लिएका हुन् ।
उनीहरुकै गिरोहका अन्य आठ जनासँग पनि नेपाली नागरिकता भेटिएको थियो । गुरागाईं र अधिकारीबाहेक सबै फरार छन् ।
उनीहरु सबै भारतीय नागरिक भए पनि नक्कली विवरणका आधारमा नेपाली नातरिकता लिएको सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक चुडामणि शर्माले बताए ।
उनीहरु भारतमा आतंकवादी गतिविधिमा संलग्न प्रिपाक, युपिपिके, केसिपीजस्ता समूहमा आबद्ध थिए ।
नयाँ पत्रिकाबाट