पोखरा, १४ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्कपकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेले आफूहरुलाई पेलेर जान खोजे सडकबाटै संविधान
जारी गर्ने चेतावनी दिएका छन् ।
संघीय गणतान्त्रिक मोर्चाले पोखरामा शनिबार गरेको सभालाई सम्बोधन गर्दै उनले चारबुँदे सहमति तत्काल कार्यान्यवन गर्न माग गरे । उनले समयमै संविधान निर्माणका लागि दबाब दिन छिट्टै सडक र सदनबाट आन्दोलन थाल्ने उनले बताए ।
काँग्रेस–एमाले यसपटक पनि संविधान जारी गर्न गम्भीर नबनेकाले अन्तिम विकल्पका रुपमा संघर्षमा जान लागेको प्रचण्डको भनाइ थियो ।
‘काँग्रेस–एमाले यो पटक पनि संधिवानसभाबाट संविधान जारी गर्न गम्भीर देखिएका छैनन्’, उनले भने, ‘विगतका सहमति पालना नभए छिट्टै सडक र सदनबाट संघर्ष थाल्छौं ।’ उनले मुद्धा मिल्ने भएकाले मधेस केन्द्रित दल र जनजातिको मोर्चा बनाएको बताए।