काठमाण्डु, १४ भदौ– बाजुरा साँस्कृतिक प्रतिष्ठानको आयोजना र देउडा कलाकार मञ्च, काठमाण्डुको सह–आयोजनामा आइतबार काठमाण्डुको राष्ट्रिय नाचघरमा देउडा नाच हुने भएको छ ।
राजधानीमा शनिबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले देउडा संस्कृतिको संरक्षण एवम् प्रर्वद्धन र स्रष्टाहरुको सम्मानका लागि देउडा नाचको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष लालबहादुर थापाले जानकारी दिए ।
थापाले राज्यबाट बाजुरालाई उपेक्षा भएको भन्दै आफूहरुले बाजुराको संस्कृति, पर्यटनको प्रर्वद्धन एवम संरक्षण, कला र भाषाको जर्गेनाका लागि पनि कार्यक्रमको आयोजना गरेको बताएका छन् । ‘राज्यले हामीलाई जहिले पनि सौतेलो व्यवहार गर्दै आएको छ’, उनले भने, ‘हामी अब सधैं यसरी पछि परेर बस्न सक्तैनौ ।’
काँग्रेस केन्द्रीय सदस्य एवम् सभासद बद्री पाण्डेले नेपाली भाषाको उद्गमस्थल बाजुरा भएको भन्दै अब कुनै पनि हिसाबले उक्त क्षेत्रलाई हेला गर्न नहुने जिकिर गरे ।
एमालेकी केन्द्रीय सदस्य एवम् सभासद मदनकुमारी शाहले बाजुराको परम्परा, संस्कृति, कला र भाषाको संरक्षण एवम् प्रर्वद्धन गर्नका लागि यस्ता खाले कार्यक्रमले टेवा पुर्या उने बताइन् ।