धनगढी, १४ भदौ– भारतीय नागरिकसँग विवाह गरेकी एक नेपाली युवती पतिले छाडेर हिंडेपछि बिचल्लीमा परेकी छन् ।
डेरामा सँगै बस्दै आएका पतिले छाडेर फरार भएपछि अलपत्र परेकी सुनिता चौधरीले पति खोजीदिन माग गरेकी छन् ।
उनले दुई वर्षअघि भारत, उत्तर प्रदेशको खिरी जिल्लास्थित पलिया बजारका शिवम दीक्षितसँग प्रेम विवाह गरेकी थिइन् । दीक्षित २५ वर्षीया गर्भवती श्रीमति छाडेर दुई साताअघि फरार भएका हुन् ।
सीमापारी गौरीफाँटा बजारमा व्यापार गर्दै आएका श्रीमान् दुई हप्ताअघि धनगढीस्थित डेराबाटै आफूलाई छाडेर फरार भएको पीडित चौधरीले बताइन् ।
दीक्षित डेरामा कमाएर राखिएको नगद ४० हजार रुपैयाँका साथै खाना पकाउने एलपी ग्यास बेचेर फरार भएको बताइएको छ ।
कैलालीको साडेपानी गाविसमा माइती घर रहेकी चौधरीको बच्चा पाउने अवस्थामा पति फरार रहेपछि उनी थप समस्यामा परेकी छन् ।