पाल्पा,१३ भदाै- जिल्ला शिक्षा कार्यालय (जिशिका) पाल्पाले नयाँ शिक्षकसँग गैरकानुनी रुपमा पैसा असुली गरेकाे खुलासा भएकाे छ ।
शिक्षा सेवा आयोगबाट नाम निकालेका करिब तीन सय २८ जनाबाट कार्यालयले जिल्ला शिक्षा समितिको नाममा पैसा असुलेको हो ।
कार्यालयले माविका शिक्षकबाट रु दुई हजार, निमाविका शिक्षकबाट रु एक हजार पाँच सय र प्राविका शिक्षकबाट एक हजारसम्म पैसा असुलेको स्वयम् स्वीकारेको छ ।
माविका ४८, निमाविका ७३ र प्राविका २ सय शिक्षकबाट पैसा उठाएको कार्यालयले जनाएको छ ।
जिल्ला शिक्षा समितिका नाममा नयाँ नियुक्ति हुने शिक्षकबाट पैसा उठाउने गरी ०६७ चैत ३ गते निर्णय भएबमोजिम जिल्ला शिक्षा कार्यालयले पैसा लिएको विद्यालय निरीक्षक रेशम न्यौपानेले बताए ।
शिक्षा विभागले शिक्षा ऐन विपरीत पैसा उठाउन नपाउने निर्देशन गरे पनि पाल्पालगायतका जिल्लामा यसरी मनपरी रुपमा नयाँ शिक्षकबाट पैसा असुली हुँदै आएको छ ।