जबर्जस्ती करणीको प्रयास गर्ने खरिदार साढे दुई वर्ष जेल

काठमाण्डु टुडे २०७१ भदौ १३ गते ८:५८ मा प्रकाशित

खाेटाङ्ग , १३ भदाै – सेवाग्राही महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने जिल्ला प्रशासन कार्यालय खोटाङका खरिदारलाई साढे दुई वर्षको कैद सजाय सुनाइएको छ ।

राहदानी बनाउन आएकी महिलालाई होटलमा लगेर जबर्जस्ती करणीको प्रयास गर्ने प्रशासनका खरिदार चित्राखर आचार्यलाई आगामी दिनमा कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी अदालतले साढे दुई वर्षको कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद गौतमको एकल इजलासले यसअघि उनले पाउने सेवासुविधासमेत नपाउने गरी उनलाई कैद सजाय सुनाएको स्रेस्तेदार भीष्म भट्टराईले जानकारी दिए ।

गत जेठ ५ गते राहदानी बनाउन जिल्ला प्रशासन आएकी एक महिलालाई उनले कार्यालय समयमै स्थानीय लाक्पा होटलमा लगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । करणी प्रयासपछि पीडित महिलाले सोही दिन दिएको उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महिलाले दिएको उजुरीको आधारमा अदालतले आचार्यलाई ४० हजार धरौटी लिएर २५ दिनपछि तारिखमा छाडेको थियो ।

धरौटी बुझाएर रिहा भएका आचार्य हालसम्म कार्यालयमा हाजिर भने भएका छैनन् । आचार्य दिक्तेल नगरपालिका-३ का हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us