काठमाण्डु, १३ भदाै – वैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति बाबुराम भट्टराईले संविधानका विवादित विषयहरुमा सबै राजनीतिक दलहरुबीच चाँडै सहमति जुट्ने बताएका छन् ।
संविधान निर्माणको कार्यतालिका अनुसार भदौ-२१ भित्र विवादित विषयमा सहमति जुटाउनेपर्ने छ ।
संविधानसभा भवनमा पत्रकार सम्मेलन गरी भट्टराईले २१ गते भित्र विवादित विषयमा सहमति जुटाउन अहोरात्र खटिने बताए । ‘मुख्य रुपमा राज्य पुनर्संरचना र साशकीय स्वरुप लगायतका विषयमा सहमति जुटाउने केन्द्रीत हुन्छौं,’ उनले भने- ‘अब हिजो अस्तीको जस्तो १/२ घण्टा होइन रातदिन नभनी काम गर्छौं । सहमति जुट्छ ।’
उनले संधिानसभा बाहिर बसेको नेकपा-माओवादीसँग पनि सहमतिको नजिक पुगेको दावी गरे । ‘मोहन वैद्यजीसँग कुरा भइरहेको छ, सहमति नजिक पुगेका छौं,’ उनले भने । वैद्यपक्षले उठाएको गोलमेच सम्मेलनमा सैद्धान्तिक सहमति भइसकेको भन्दै उनले त्यसको कार्यविधी बारे छलफल भइरहेको बताए ।